
१४ माघ , काठमाडौँ । मोरङ, सुन्दरहरैचा नगरपालिका–४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा महिलालाई जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उक्त होटलका संचालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका–३ का २५ वर्षीय रामवहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।
गत शुक्रबार ती महिलालाई ईटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पु¥याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर शनिबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन र सुरजलाई नियन्त्रणमा लिएको थियो ।
उक्त घटनामा संलग्न फरार रहेका सुधान्सुलाई मंगलबार ईलाम सूर्योदय नगरपालिका–१२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा फेला पारी १ नम्बर प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका तीनैजना उपर जबरजस्ती करणी मुद्दामा आवश्यक कारबाही अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
यस्तै, नुवाकोट, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा किस्पाङ गाउँपालिका–३ अर्काबेशी बस्ने २० वर्षीय परिमान तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किस्पाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।






