
१५ माघ , काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने बताएका छन् ।
शनिबार विमानस्थल आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री आलेले विमानस्थल सञ्चालनमा अब कुनै पनि बिलम्ब नहुने गरी योजना बनाइएको बताए । मौसम अनुकूल भए आउँदो फेब्रअरी २१ अर्थात फागुन ९ गतेसम्म परीक्षण उडानका लागि विमान अवतरण हुने गरी कार्यतालिका तयार पारिएको उनको भनाइ छ ।
परीक्षण उडान सफल भएपछि आउँदो बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान गर्न मन्त्री आलेले निर्देशन दिएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको आईसीबी–२ का व्यवस्थापक प्रविन न्यौपानेले बताए ।
‘बुद्ध जयन्ती अगावै अन्तर्राष्ट्रिय उडान शुरु गर्नेगरी काम गर्न मन्त्रीज्यूले निर्देशन दिनुभयो’ न्यौपानेले भने ।
विमानस्थल अनुगमनमा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली आएको थियो ।
फागुन १० सम्ममा क्यालिब्रेसन उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) को पूर्व तयारीका लागि थाइल्यान्डको प्राविधिक टोलीले बिहीबारदेखि नेपाली प्राविधिकलाई तालिम दिन शुरु गरेको छ ।
विमानस्थलको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माण कार्य (आईसीबी–२) को ठेक्का एरो थाईले लिएको थियो । सोही कम्पनीका ४ जनाको प्राविधिक टोलीले टोलीले विमानस्थलमा जडित विभिन्न उपकरण, विमानस्थलको ग्राउण्ड, रन–वे लगायतका भौतिक पूर्वाधारको जाँचसंगै विमानस्थल सञ्चालन गर्न नेपाली टोलीलाई तालिम पनि दिन शुरु गरेको हो ।
परीक्षण उडान अन्तर्गत विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणको जाँच, क्यालिब्रेसन उडान शुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायत परीक्षण हुने छ ।



