२१ माघ, काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले राहदानी बिभागको अनलाइन फर्म किर्ते गर्ने ३ जनालाई पक्राउ गरेको छ । सेवाग्राहीसँग प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले रकम लिएर नक्कली कागजात ई–पासपोर्ट तयार पारी सम्पर्क मिति छिटो बनाइदिने गरेको जानकारी आएपछि महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले बिहीबार ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले ई–पासपोर्टको सरकारी कागजात किर्ते गर्ने तीन व्यक्तिसहित ५० थान ई–पासपोर्टको फारम बरामद गरेको हो। प्रहरीले दलालहरुको साथबाट ४० हजार नगद, एक थान कम्प्युटर, एक थान ल्यापटप र एक थान प्रिन्टर समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

डिएसपी अनिल घिमिरेका अनुसार राहदानी विभागका धेरैजसो कर्मचारी कोभिड सङ्क्रमणका कारण बिदामा भएकाले सीमित जनशक्तिले काम गर्नु परेको र सम्पर्क मितिको भेरिफाई गर्ने समय नभएको कारण भित्र जाने व्यक्तिले खुरुखुरु काम गराउन पाएका थिए । गेटमा बस्ने प्रहरीलाई उक्त कागजात सक्कली हो कि नक्कली भन्ने जानकारी नहुने भएकाले प्रहरीले पनि सेवाग्राहीलाई भित्र जान दिन्थे ।

काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ । अब उनीहरूमाथि सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान गरी मुद्दा चलाउने तयारी भइरहेको छ । प्रहरीले जफत गरेका कागजातका आधारमा ५० जना सेवाग्राहीमाथि पनि सरकारी कागजात किर्तेमा अनुसन्धान हुने र उनीहरूले सरकारी कागजात किर्ते गरी छिटो सेवा लिन कागजात बुझाएको पुष्टि भएमा उनीहरूमाथि पनि मुद्दा चल्न सक्ने प्रवक्ता दिनेश मैनालीले बताए ।






