२२ माघ, काठमाडौं । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ ।
केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै रु ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटिजिए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब भन्दा बढीको कारोबार भएको छ । बैंकको विवरणानुसार गत आवको मङ्सिर महिनामा विद्युतीय कारोबार रु २३ खर्ब ७७ अर्ब भन्दा बढीको थियो ।
आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग उल्लेख्य रुपमा वृद्धि हुँदै गर्दा विभिन्न नाममा ठगी पनि बढ्दै गएको छ । चिठ्ठा परेको भन्ने प्रलोभन, मोबाइल एप्लिकेशनको दुरुपयोग, अपरिचित व्यक्तिबाट आफ्नो पासर्वड तथा ओटिपी विभिन्न वहानामा माग गरिनु जस्ता क्रियाकलाप बढेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई त्यस बारे सजग र सुरक्षित रहन सुझाव दिएको छ ।
अहिलेको समयमा सामाजिक सञ्जालमार्फत चिनेजानेका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी ईन्टरनेट बैंकिङ अथवा मोबाइल बैकिङको युजरनेम तथा पासर्वड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचनाहरु लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई रकम हस्तान्तरण गर्ने बहानामा उल्टै रकम माग गर्ने, गैरकानुनी उपकरणमा लगानी गर्न उत्प्रेरणा गर्ने जस्ता क्रियाकलाप बढ्दै गएको भन्दै यस प्रकारका ठगी बाट बच्न र सुरक्षित कारोबार गर्न सर्वसाधारणलाई राष्ट्र बैंकले सूचनामार्फत ध्यानाकर्षण गरेको छ ।
केन्द्रीय बैंकले अपरिचित व्यक्तिलाई आफ्नो पासर्वड, ओटीपी वा अन्य कुनैपनि संवेदनशील जानकारी नदिन, आफ्नो पासर्वड समयसमयमा परिवर्तन गर्न तथा यस्ता पासर्वड गोप्य राख्न भनेको छ ।
त्यस्तै अनावश्यक तथा अनधिकृत एप्लिकेशन मोबाइल वा अन्य उपकरणमा डाउनलोड गर्दा आफ्ना संवेदनशील सूचनाहरु आपराधिक समूहले पत्ता लगाउन सक्ने भएकाले त्यस्ता अनावश्यक तथा अनधिकृत एप्लिकेशन प्रयोग नगर्न बैंकले सुझाएको छ ।



