०१ फाल्गुण , काठमाडौं । सडकको दुरावस्था हेर्दा तार्केश्वर नगरपालिका राजधानी काठमाडौंको एक पिछडिएको नगरपालिका भन्दा फरक नपर्ला । बालाजु बाइपासबाट मात्रै ९-१० किमि टाढा रहेको यो क्षेत्रमा सडकको अवस्था दयनीय छ ।

दैनिक सयौँको संख्यामा काठमाडौं नगरपालिकाको फोहोरमैलाका गाडीहरु यसै बाटो भएर गुड्छन् । काठमाडौं र नुवाकोट जोड्ने यो सडकको अवस्था हेर्दा साँच्चै पिछडिएको ठाउँजस्तो आभास हुन्छ । पासाङल्हामु राजमार्गअन्तर्गतको यो बाटो निर्माणको जिम्मा सैलुङ कन्सट्रक्सनले पाएको झन्डै ७ वर्ष भइसकेको छ । तर समस्या भने ज्युँका त्युँ नै छ ।

विकासको नाममा विनाश र अलपत्र गर्ने ठेकदार कम्पनीको लापरबाही देख्दादेख्दै पनि कारबाही गर्न नसक्ने गैरजिम्मेवार सरोकार निकायहरुको विरोधमा स्थानीयहरुले आज काठमाडौं महानगरको फोहोर डम्पिङ र पासाङल्हामु राजमार्गमा चल्ने यातायात पूर्ण रुपले बन्द गरेका छन् । स्थानीयहरु पासाङल्हामु राजमार्ग कालोपत्रे दबाब अभियान भन्दै सडकमा उत्रिएका छन् । साथै उनीहरुले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सडक नबनाए कुनै पनि प्रतिनिधिहरुलाई भोट नदिने भनै आक्रोश जनाएका छन् ।
‘नो रोड नो भोट’ भन्ने व्यानरसहित उनीहरु सडकमा उत्रेका छन् ।

तारकेश्वर नगरपालिका वडा नं ३ को वडा कार्यालय तिनपिप्लेमै छ । वडा कार्यालयकै अगाडि बडेमानका खाल्डा खुल्डीहरु छन् । वडा नं ३ का वडाअध्यक्ष मनोहरी तिवारी स्थानीय सरकारले सडकका विषयमा आवाज उठाइरहेको बताउँछन् ।
‘हामीले सैलुङ कन्सट्रक्सनलाई र सम्बन्धित ठेकेदार सारदा अधिकारीलाई धेरै पटक पत्राचार गरेका हौँ । तर उनीहरुले हाम्रो कुरा सुन्दै सुन्दैनन् । ठेकेदार पनि आफूले जनताहरुसँग गरेको प्रतिबद्धता पूरा गर्न नसकेका कारण यहाँ आउने गरेका छैनन्’, उनले भने ।

तिनपिप्लेबाट चिसापानी हुँदै आउने बाटो पनि निर्माणाधीन अवस्थामा छ । निकै लामो समय बन्द भएपछि भर्खरै यो बाटोमा सार्वजनिक यातायात सूचारु भएका छन् । तर बाटोको अवस्था निकै डर लाग्दो छ ।



