१९ फागुन , काठमाडौं । शहरीकरण र यातायातको चापसँगै बढ्दो अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न वडा प्रहरी कार्यालय वालिङ स्याङजाको स्तारोन्नती गरेको छ ।
प्रहरी प्रधान कार्यालयले मुद्दा चलाउने अधिकार सहित जिल्ला प्रहरी कार्यालय स्याङजा मातहत रहेको वडा प्रहरी कार्यालय वालिङमा पहिलो पटक डीएसपी खटाउने निर्णय गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार स्तरोन्नती गरिएको वप्रका वालिङमा यसअघि प्रहरी निरीक्षकको दरबन्दी रहेकोमा अबदेखि नायब उपरीक्षक खटाउन थालिएको हो । यसका लागि डीएसपी ढकेन्द्र खतिवडाको काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ दरबन्दीसहित वप्रका वालिङमा बजेट तथा जनशक्ति समेत थप गरिने भएको हो । यस्तै जिल्ला प्रहरी कार्यालय स्याङजासँगको समन्वयमा वप्रका वालिङले अति गंभिर र सम्बेदनशील बाहेकका मुद्दा समेत आफै चलाउन पाउने छ ।




