११ चैत , काठमाडौं । सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय अगाडि सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरिएको छ ।
नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठक सुरू हुनैलाग्दा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापतिविरुद्ध प्रदर्शन गरेका हुन् । कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा केही समयपछि त्यहाँ पुग्दैछन् । शेखर कोइराला समूहका नेविसंघ र तरुण दलका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
प्रदर्शन गर्ने थाहा पाएपछि बिहानैदेखि पार्टी कार्यालय आसपास प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनका क्रममा मुख्य सडक अवरुद्ध भएको छ ।
उनीहरूले ‘देउवा प्रवृत्ति बन्द गर, एकलौटीपन बन्द गर, हाम्रो घर ९पार्टी कार्यालय० जान दे, नालायक सभापति मुर्दावाद, प्रहरी हस्तक्षप बन्द गर’ जस्ता नारा लगाएका छन् ।
दुई दिनअघि सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गरेका थिए ।


