दरबारमार्गस्थित होटल अलोफ्टद्वारा सञ्चालित वाल्डो क्यासिनोबाट दुई नेपाली पक्राउ परेका छन्।

क्यासीनोमा नेपालीहरू पनि जुवा खेल्न जाने गरेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले बताए ।

पक्राउ पर्नेमा सुनसरीको साबिक बक्लौरी गाविस-२ का ४६ वर्षीय मदन कार्की र सर्लाही साबिक ढुंग्रेखोला गाविस-२ का ३३ वर्षीय बबिरमान भोलन रहेको र उनीहरूको साथबाट १५ थान क्वाइन र ९९ हजार रुपैयाँ बरामद भएको छ। यस्तै, प्रहरीले दुई थान भारतीय नक्कली आधार कार्ड प्रहरीले बरामद गरेको छ ।
काठमाडौं प्रहरी परिसरका एसएसपी सुदीप गिरीका अनुसार क्यासिनोमा जुवा खेल्नकै लागि भारतीय आधार कार्ड बनाउँदै नेपाली नागरिक क्यासिनोमा छिर्ने गरेको पाइएको बताए । क्यासिनो भनेको जुवा खेलेर आफ्नो सर्वस्व गुमाउने लाइसेन्स प्राप्त आधिकारिक ठाउँ हो । त्यसैले होला नेपाल सरकारले धेरै पहिले देखि क्यासिनो सञ्चालन गर्ने अनुमति दिनुका साथै त्यसमा नेपालीको प्रवेशलाई प्रतिबन्ध लगाएको छ । तर, सरकारले लगाएको सो प्रतिवन्धको पुर्ण पालना क्यासिनो सञ्चालकहरुले गरेको पाइदैन । धेरै जसाे नेपालीहरुले क्यासिनोहरुमा भारतीय नागरिक बताएर क्यासिनोमा छिर्ने गरेका छन् । भने कतिपय नेपाली नागरिकलाई जानी जानी क्यासिनो व्यवस्थापनले छिराउने गरेको बताए ।






