२२ वैशाख, काठमाडौ । केही समय यता कलाकार पल शाह र नाबालिग बीचको प्रकरणले छलफलमा स्थान पाउने गरेको छ ।
चियागफ होस् या अन्य यो विषयले केही मात्रमा स्थान पाएर छलफल हुने गर्दछ । अदालतमा विचाराधीन मुद्दा भएकाले पछिल्लो समय यस विषयमा धेरैले बोल्न छाडेका छन् । यद्यपि नाबालिगले बयान फेरेपछि पुनः यसले चर्चाको विषय पाएको थियो । यद्यपि पछिल्लो समय यस विषयमा अभिनेता रमेश उप्रेतीले बोलेपछि चर्चा भइरहेको छ ।
उनले एक अन्तरवार्ताको क्रममा यस विषयमा बोले । केही समय अगाडि मात्र पललाई भेट्न उनी तनहुँ स्थित कारागार नै पुगेका थिए । त्यहाँ पुगेर उनले भेटेको जानकारी गराएका थिएनन् । तर, नाबालिगले जाहेरीमा दिएको बयान बकपत्रमा फेरेपछि रमेशले सामाजिक सञ्जाल मार्फत भेटघाट भएको स्वीकारेका हुन् । त्यसयता पलको पक्षमा वकालत गर्दै आइरहेका रमेशले आफूले बोल्ने शब्दको अर्थ के हुन्छ भन्ने कुराको हेक्का नराख्दा विवाद निम्त्याएका छन् ।
समाजका मार्गदर्शक मानिने कलाकारहरूले गम्भीर विषयमा समेत हलुका अभिव्यक्ति दिँदाको परिणाम अहिले रमेशले भोगिरहेका छन् । ‘बलात्कार हुने बितिक्कै कराउनु र चिच्याउनु पर्यो या भोलिपल्टै पुलिसमा गएर उजुरी दिनुपर्छ । एक वर्षपछि उजुरी दिएर हुँदैन । अनि, हरेक ठाउँमा बलात्कार हुँदैन । एक ठाउँमा भएपछि भयो । कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार भन्नु राम्रो होइन ’ रमेशले बोलेको यही संवादले उनलाई विवादमा ल्याएको छ ।
उनले नाबालिगसँगको सम्बन्ध बलात्कार नभएको दाबी गर्दै अगाडि भनेका छन्, ‘उनीहरुबीच सम्बन्ध भयो होला तर बारबार बलात्कार हुँदै हुँदैन । यो कुरामा म क्लियर छु । पल पीडक हुँदै होइन । उसले त्यति ठूलो क्राइम गरेकै होइन । तर, कहिले काहीँ राम्रो मान्छेले पनि परीक्षा दिनुपर्छ ।’ पल निर्दोष रहेको दलिल पेश गरेपछि धेरैले रमेशको चेतनास्तर र मानसिकतामाथि प्रश्न उठाएका छन् ।







