Comments Add Comment

Advertisment

SKIP THIS

अनिल परियार हत्या प्रकरण : छातीदेखि पेटसम्म ३० पटक हानियो चक्कु

बैशाख २८, चितवन। भरतपुर–१२ का अनिल परियार (कान)को हत्यामा धारिलो वस्तु चक्कुको प्रयोग भएको पाइएको छ । एकातर्फ बोधो र अर्कोतर्फ तिखो धार रहेको चक्कुले छातीदेखि पेटको भागसम्म ३० पटक प्रहार गरिएको पोस्ट मार्टम रिपोर्टबाट खुलेको छ ।

घटनास्थलमा २ वटा गोलीका खोकासमेत भेटिएको प्रहरीले बताएको थियो । तर, अनिलको हत्यामा गोली प्रयोग नभएको पोस्ट मार्टमका क्रममा पाइएको छ ।

भरतपुर अस्पताल स्रोतका अनुसार दुई जना चिकित्सकले शवको पोस्ट मार्टम गरेका थिए । शवपरीक्षणका क्रममा ३० ठाउँमा चक्कु प्रहार भएकोमा मुटु, कलेजो, फोक्सोजस्ता भित्री अङ्गमा चोट लागेको छ । छातीका केही हड्डीहरु समेत भाँचिएका छन् । पेटमा त्यस्तै घाउ छ । ‘घाउको प्रकृति हेर्दा एकातर्फ बोधो र अर्कोतर्फ तिखो भाग भएको वस्तुले हानेको देखिन्छ’, अस्पताल स्रोतले भन्यो, ‘यस विषयमा थप जानकारी प्रहरीसँग लिनुहोस् ।’

चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले पोस्ट मार्टम रिपोर्टबारे अहिले केही भन्न नमिल्ने बताए । साथै, आरोपितहरुको खोजी भइरहेको उनले बताए । अनुसन्धानको विषय भएकाले सबै कुरा सार्वजनिक गर्नु ठीक नभएको भन्दै उनले अनुसन्धान टुङ्गो लागेपछि जानकारी गराइने बताए ।

हत्यासम्बन्धमा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) चितवन आएको छ । यसै घटना बुझ्न प्रहरीको बागमती प्रदेशबाट पनि एउटा टोली खटिएको छ ।

भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर खेल मैदाननजिकै आइतबार राति ७ः३० बजेको समयमा अज्ञात समूहले परियारलाई हतियार प्रयोग गरी हत्या गरेको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।

हत्यामा एक जना अजय सिंह भन्ने भारतीय नागरिकको संलग्नता रहेको भनी प्रहरीले खोजी थालेको छ । अनिलले नै साथीभाइबीच चिनाउँदा अजय सिंह भएको र घर भारत भएको भनी चिनाएकाले आफूहरुले त्यसै सूचनालाई आधार मानी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

हत्या गरिएका अनिलको मंगलबार देवघाटमा अन्त्येष्टि गरिएको छ । भरतपुर अस्पतालबाट शव कांग्रेस पार्टी कार्यालयमा राखी देवघाट लगिएको थियो । कांग्रेस चितवन सचिव धु्रव पोखरेलले मृतक परिवारलाई राहत र मृतकलाई शहीद घोषणाको माग सरकारसँग गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै