Comments Add Comment

Advertisment

SKIP THIS

हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू छन् : प्रचण्ड

१३ जेठ , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकै राम्रो समाज र राज्य बनाउने चाहाना राखेपनि दिनदिनैको
कामकारवाही भनाइसँग तालमेल नहुने गरेको बताएका छन् । शुक्रबार २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कही न कहि हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू रहेकाले समाज रुपान्तरण र क्रान्तिकारी बाटोमा जानुको साटो दिग्भ्रम र विचलनतिर गइरहेको र त्यो क्रम बढ्दो रहेको बताए ।

‘कहीँ न कहीँ हाम्रो सिस्टमभित्र थुप्रै खोटहरू छन् । जसले गर्दा समाज रुपान्तरण क्रान्तिकारी ढंगले होइन दिग्भ्रम र विचलनतिर गइरहेको छ र त्यो क्रम अझ बढ्दो छ’, अध्यक्ष प्रचण्डको भनाइ छ । उनले सबैले नयाँ अभियान, अनुसन्धान र नयाँ आविष्कारको खोजीमा लागे मात्रै समाज र राष्ट्रलाई केही दिन सकिने र समाज रुपान्तरण गर्न सकिने पनि बताए ।

‘समाज रुपान्तरण र क्रान्तिकारीतिर जाने होइन, दिग्भ्रमिततिर गइरहेको छ । विचार र सिद्धान्त भन्दा क्षणिक र अस्वस्थ प्रतिस्पर्धामा समाज गइरहेको हामीलाई भ्रम हुन्छ’ प्रचण्डको भनाइ छ । त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिवद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने पनि प्रचण्डले बताए । उनले सेनसँगका सहकार्यका स्मृति आफुसँग अझै ताजै रहेको भन्दै तपस्या र साधनामा केही कमी नभएका सेनमा बलिदानको उच्च भावना पनि रहेको बताए ।

‘उहाँ त्याग र तपस्याको प्रतीक पनि हो । साधना, जिम्मेवारी, साहित्य संस्कृति वा पार्टीको जिम्मेवारी पुरा गर्न तपस्यारत हुनुहुन्थ्यो । यस्तो व्यक्तित्व सजिलै जन्मन सक्दैनन्’, उनले भने, ‘हामी पनि तपस्या गर्नसक्ने, जस्तोसुकै प्रतिकूल अवस्था रहेपनि निरन्तर साधनारत रहने हामीले त्यो संकल्प या प्रतिवद्धता गर्छौ भनेमात्रै इच्छुकप्रति सच्चा श्रद्धाञ्जली हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment