१४ जेठ , काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको बताएका छन् । त्यसका प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको उनको आरोप छ ।
शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौंमा घर बनाइसकेको दावी गरे ।
उनले भने, ‘हामीले पाँच वर्ष स्थानीय निकाय सञ्चालन ग¥यौँ, अब रिभ्यू गर्ने बेला भएको छ कि छैन, अनियमितता छ कि छैन ? अनियमितता हेर्ने हो भने त्यहाँका पदाधिकारीले गाली खाइरहेका छन् । कसले कमाइरहेको छ, त्यहाँका प्रशासकीय प्रमुखहरु । ८० प्रतिशत प्रशासकीय प्रमुखको घर काठमाडौंमा छ ।’
स्थानीय तहका पदाधिकारीले हरेक कामका लागि प्रमुख प्रशासकीय अधिकृतको भरपर्नुपर्ने भन्दै नेता कर्णले पदाधिकारीले चाहेरमात्र केही गर्न नसक्ने टिप्पणी बताए ।






