२७ जेठ , काठमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले आज (शुक्रबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपालअमेरिका सुरक्षा सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।
भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । त्यस अवसरमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा पनि गरे ।
प्रधानमन्त्री देउवालाई भेटेलगत्तै फ्लिन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । बिहीबार चार दिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चाल्र्स ए फ्लिनलाई सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने छ ।



