२९ जेठ , काठमाडौं । सङ्खुवासभाको सभापोखरीबाट बेहुला बेहुली सहित आफन्त बोकेर गुडेको विवाहको टाटा सुमो गाडी इटहरी २० तरहरास्थित पानीपियामा दुर्घटना हुँदा बेहुला बेहुली सहित ५ जना घाइते भएका छन् । प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार चालक निदाउँदा भएको दुर्घटनामा बेहुला बेहुली सहित ५ जना घाइते भएका हुन ।
घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । सङ्खुवासभाको सभापाेखरीबाट मोरङको सुन्दरहरैंचा आउँदै गरेको मे १ ज १९८६ नम्बरको सुमो आफैँ अनियन्त्रित भई सडकबाट १० मिटरजति तल खसेर रुखमा ठोक्किएको ट्राफिक प्रहरीको भनाइ छ ।
दुर्घटनामा चालक सुन्दरहरैँचा नगरपालिका–९ का ३३ वर्षीय कुमार कार्की, बेहुला सुन्दरहरैँचा–१० का २४ वर्षीय सविन आलेमगर, बेहुलाका बुवा ६४ वर्षीय यामबहादुर आलेमगर, बेहुली सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ की २४ बर्सिया सङ्गीता मगर र गाडीमा सवार इटहरी–३ का ४५ वर्षीय भक्तबहादुर मगर घाइते भएका छन् । घाइते मध्ये बेहुली र बेहुलाका बुवाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको धरानस्थित बिपी प्रतिष्ठानमा उपचार भइरहेको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।







