३० जेठ , काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि पर्सि असार १ गतेदेखि बन्द गर्ने भएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाक लगायत गतिविधि बन्द गर्न लागिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि पर्यटकीय गतिविधि बन्द गरिएको बताइएको छ । निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ । यो सँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी बन्द गरिएको छ ।



