९ असार , काठमाडौं । सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुर्याउनका लागि कार्य अगाडि बढाएको हो ।
औलो रोग निवारणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, कीटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने कार्य अगाडि बढाइएको निर्देशनालयका कार्यक्रम अधिकृत हेमराज जोशीले जानकारी दिए। उनका अनुसार स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थासँगै औलो रोग निवारणका लागि प्रतिबद्धता कायम गराउने कार्यसमेत भइरहेको छ ।
‘नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो निवारण गरिसक्ने लक्ष्य लिएको छ’, उनले भने, ‘लक्ष्य हासिल गर्नका लागि लगातार तीन वर्षसम्म औलो पोजिटिभ बिरामीको सङ्ख्या शून्य कायम हुनुपर्छ, शङ्कास्पद औलो रोगीको जाँच पनि उच्च जोखिम क्षेत्रमा कूल जनसङ्ख्याको १० प्रतिशत, मध्यम जोखिम क्षेत्रमा पाँच प्रतिशत र न्यून जोखिम क्षेत्रमा कूल जनसङ्ख्याको तीन प्रतिशत कायम हुनुपर्दछ ।’ रोगीको सङ्ख्या शून्यमा झार्न र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुऱ्याउनका लागि सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विभिन्न कार्यक्रम अगाडि बढाएको उनले बताए ।
नेपालका सात वटै प्रदेशमध्ये सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा औलो बिरामीको भार अत्यधिक रहेको तथ्याङ्क स्वास्थ्य निर्देशनालयसँग रहेको छ । आव २०७७/७८ मा कूल औलोका बिरामीको सङ्ख्या ३७७ मध्ये सुदूरपश्चिममा मात्र २२३ फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
चालु आर्थिक वर्षको आजसम्म कूल ४५० औलोका बिरामी देखा परेका छन् । त्यसमध्ये सुदूरपश्चिममा मात्रै १७१ बिरामी देखा परेका छन् । धेरै औलो बिरामी सुदूरपश्चिम प्रदेशमा मात्र भएको हुनाले सुदूरपश्चिमले औलो रोग निवारणको लक्ष्य समयमै हासिल गर्नका लागि अन्य प्रदेशको तुलनामा झन् बढी काम गर्नु पर्ने स्वास्थ्य निर्देशनालयका कार्यक्रम अधिकृत जोशीले बताए ।







