काठमाडौं । अव्यवस्थित प्लटिङका कारण तारकेश्वर नगरपालिका –३ गैरीगाउँ रामघाट तथा पाँचमाने जोखिममा परेको छ । गाउँ माथि ठाडो भिरालो जग्गामा गरिएको प्लटिङका कारण सिङ्गो गाउँ नै जोखिममा परेको हो ।
बर्खा लागेसँगै भिरालो जग्गामा प्लटिङ गरिएको ठाउँबाट ढुङ्गा माटो बगेर झरेका कारण गाउँ जोखिममा परेको स्थानीयको भनाई छ । पटक–पटक भिरालो जग्गामा प्लटिङ नगर्नका लागि सम्बन्धित निकायमा हारगुहार गर्दा पनि केही सुनुवाइ नभएको पीडित स्थानीयहरू बताउँछन् ।
‘हामीले यो कमसल भिरालो जग्गामा डोजर लगाएर प्लटिङ नगर्नका लागि स्थानीय निकायदेखि बफर जोन र अन्य सम्बन्धित निकायहरूमा पटक पटक अनुरोध गर्यौ। तर, हाम्रो कुराको कुनै सुनुवाइ भएन’, ‘स्थानीय सुदिप फुयाँलले भने, ‘सुरुमा थोरै जग्गा मात्रै सम्माउने अनुमति लिएका थिए । पछि बिस्तारै सिङ्गो भिरालो डाँडा नै महिनौँ डोजर लगाएर जमिन भास्न काम गरियो ।’
प्लटिङ कै कारण बालीनालीमा समेत ठुलो क्षति गरेको स्थानीय बद्री दाहालले बताए । ‘साबिकको खोला नै पुरेर प्लटिङ गरिएको छ । भू—माफियाहरूले पैसा कमाउने लोभमा आज सिङ्गो गाउँलाई नै विस्थापित हुने अवस्थामा पुर्यायो । गाउँसँगै बालीनालीमा समेत ठूलो क्षति भएको छ ।’ यस अघिका जनप्रतिनिधि प्रति आक्रोशित हुँदै उनले बाँदर हिँड्दा पनि लड्ने भीरमा प्लटिङ गर्ने अनुमति दिएर जनतामाथि गद्दारी गरेका उनको आरोप छ ।
त्यस्तै, प्लटिङका कारण आएको गेगरसहितको बाढीले बालीनालीमा लाखौँको क्षति हुन सक्ने स्थानीय रामचन्द्र पलेलले बताए । उनले आक्रोश हुँदै भने, “प्लटिङका कारण निर्माणाधीन मन्दिर परिसरमा लगाएको वाल पनि भत्किन लागेको छ । भर्खर त वर्षा सुरु भएको छ । सुरुवातमै यस्तो हालत छ । झन् अझ ठुलो पानी पर्दा के होला ?’ साथै उनले प्लटिङबाट हुन सक्ने धनजनको क्षति न्युनिकरण गर्न तत्काल उचित व्यवस्थापन गर्नुपर्ने उनले माग राखे ।
साबिकको खोला नाली पुरेर प्लटिङ गरिएको अर्का एक स्थानीयले बताए । ‘नक्सामै भएको खोला पुरेर प्लटिङ गरेका छन् । यति मात्रै होइन प्लटिङ बनाएका वालहरू पनि पुरै कमसल छन्’, स्थानीय सुदर्शन फुयाँलले भने, ‘प्लटिङ कै कारण माथि डाँडा र तल भएका बस्तीहरू विस्थापित हुने अवस्था आएको छ ।’
यस अघिका नगर प्रमुखले गरेको गल्तीको परिणाम आज यस क्षेत्रका स्थानीयले दुख झेल्नु परेको तारकेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम अर्यालले बताए । उनले भने, ‘ यस अघिका नगर प्रमुखले गरेको गल्तीको परिणाम आज यस क्षेत्रका स्थानीयले दुख पाएका छन् । प्लटिङ प्रभावित स्थानीय बासिन्दालाई यथासम्भव राहतको व्यवस्था गर्ने गरी काम अघि बढाएको छु । तत्काल प्लटिङ व्यवसायीलाई बोलाई प्लटिङका कारणले भएको क्षति र नोक्सानीलाई न्यूनीकरण तथा रोकथाम गर्न सहमति गरिसकेका छौँ ।’
त्यस्तै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटीले अव्यवस्थित ढङ्गले निर्माण गरेका प्लटिङहरूको सूक्ष्म निगरानी गरिने बताइन । उनले भनिन्, ‘अव्यवस्थित ढङ्गले निर्माण गरिएका प्लटिङहरूले गर्न सक्ने हानि नोक्सानीलाई मध्यनजर गरेर निर्मम तवरले प्रस्तुत हुनेछौँ । हाम्रो पहिलो प्राथमिकता बर्खा याममा प्लटिङबाट हुने क्षतिलाई रोकथाम तथा न्यूनीकरण गर्ने हुनेछ । बर्खापछि अव्यवस्थित प्लटिङको अनुगमन गरी मापदण्ड नपुर्याइ गरिएका प्लटिङहरूलाई खारेज समेत गर्ने गरी अघि बढ्छौँ ।’ https://youtu.be/93D082at7Yk
एक स्थानीयका अनुसार तत्कालीन नगर प्रमुखको आदेशमा तारकेश्वर नगरपालिकामा मात्रै यस्ता १०० भन्दा बढी अव्यवस्थित प्लटिङ गरिएको छ । यो त एउटा सानो उदाहरण मात्रै हो । अव्यवस्थित प्लटिङका कारण कति पय ठाउँमा त जनधनको समेत क्षति भएको छ । कतिपय स्थानीयहरू आफ्नो थाक थलो छोडेर अन्यत्र विस्थापित समेत भएका छन् । साभार अन्लाईनबाट







