१४ असार , काठमाडौं । बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया–१७ सुराहीका २१ वर्षीय मुन्ना अन्सारी र बारा, परवानीपुर–१ का २२ वर्षीय सञ्जय महतो छन् । उनीहरुले भारतीय सीमावर्ती बजारबाट पाम तेल भित्र्याएका हुन् । तेलसहित ना २ च ५२३२ र ना ५ च ६१६ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।करिब ३ लाखको पाम तेल र किराना समान प्रहरीले बरामद गरेको हो । बारा प्रहरीले भ्यान, बरामद समान तथा चार जनालाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार पठाउने तयारी गरेको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश दत्तले जानकारी गराए । नेपालमा भन्दा भारतमा पाम तेल सस्तो भएपछि तस्करी सुरु भएको छ ।
पाम तेल नेपालमा उत्पादन हुँदैन । तर नेपालबाट भारतमा निर्यात हुने मुख्य बस्तुमा पाम आयल पर्दछ । इन्डोनेसिया, मलेसिया र थाइल्याण्ड लगायतका देशबाट नेपालमा ल्याएर व्यवसायीले भारतमा निर्यात गर्छन् । नेपालमा यो तेल कच्चा तथा रिफाइनरीका रुपमा भित्रिने र यहाँबाट केमिकलयुक्त प्रशोधनपछि भारतमा निर्यात हुने गरेको भन्सारको विवरणमा उल्लेख छ । आर्थिक बर्ष २०७६–०७७ मात्रै नेपालबाट ११ अर्ब रुपैयाँको पाम तेल भारत निर्यात भएको तथ्यांक सार्वजनिक भएको थियो ।





