रामेछाप र दोलखाको सैलुङ आसपासका किसानलाई अहिले भ्याई नभ्याई छ । सैलुङका किसान सो क्षेत्रको मुख्य बाली आलु खेतीमा लागेका छन् । सैलुङका किसान यतिबेला आलु खन्न र बिक्रीवितरण गर्न भ्याइनभ्याई छ।
आलु उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको सैलुङको आलुको बजारमा राम्रो माग बढेपछि किसान आलु खेतीमा अकर्षित भएको स्थानीय दावासङ्बु शेर्पा बताउनुहुन्छ ।
सैलुङमा गरिँदै आएको परम्परागत आलु खेतीलाई व्यवसायीक र आधुनिक पनि गरिँदै छ । नयाँ जातको बिउ तथा आलु भण्डारण लगायतको व्यवस्था भएको छ । त्यस्तै त्यहाँ उत्पादित आलुको अनुसन्धान गरी नयाँ नयाँ जातको बिउ उत्पादन भइरहेको छ ।
विगतमा यातायात साधन नहुँदा सैलुङमा उत्पादन हुने आलु बजारसम्म पुर्याउन समस्या थियो । अहिले काठमाडौंबाट सैलुङसम्म सोझै यातायात साधन चल्ने भएपछि सैलुङको आलु काठमाडौं र तराईसम्म पुग्न लागेको छ ।
सैलुङको आलु स्वादिलो र पोसिलो भएको कारण बजारमा यसको उच्च माग रहेको छ । त्यसैले सैलुङको आलु १ सय ५० रुपैँया धार्नी बारीमै बिक्री हुन लागेपछि किसानले राम्रो आम्दानी लिन लागेका छन् ।
एउटै किसानले आलु बेचेर एक सिजनमा तीन/चार लाख रुपैँयासम्म कमाउने शेर्पा बताउनुहुन्छ । त्यस बाहेक काउली, बन्दा, मुला, टमाटर, केराउ, गाँजर लगायतका खतीबाट किसानले वार्षिक राम्रो आम्दानी गर्न लागेका उहाँले बताउनुभयो ।
विगतमा कोदो वा मकै एक बाली लगाउने किसान अहिले सैलुङको जमिनमा तरकारी र आलु खेतीबाट राम्रो कमाई गर्न लागेका छन् । जसले सैलुङ क्षेत्रका किसानको जीवनस्तरमा व्यापक सुधार आएको छ ।
तस्वीर तथा जानकारी – बिजय घिसिङ/ दोलखा