४ साउन , काठमाडौँ । जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भरत बहादुर बोहराद्वारा प्रहरी परिसर मातहत कार्यालयहरु निरीक्षण गर्ने क्रममा प्रहरी बृत्त बौद्द, प्रहरी प्रभाग साखु र प्रहरी प्रभाग कपनको निरीक्षण तथा प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै ।

एसएसपी भरत बोहराले समयको परिवर्तनसंगै आम नागरीकमा प्रहरी प्रतिको अपेक्षामा समेत वृद्धि भईरहेकाले प्रहरी संगठनले अंगिकार गरेका नीति नियम तथा कार्य-योजनाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्दै आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौ मातहतको प्रहरी कार्यालय निरिक्षण एवं अवलोकनका क्रममा प्रहरी वृत्त बौद्ध प्रहरी कर्मचारिहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । साथै व्यवसायिक कार्यदक्षताले भरिपुर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनले अंगिकार गरेका उदेश्यहरु पुरा हुने बताउदै हरेक प्रहरी कर्मचारीहरु दिन प्रतिदिन आफुलाई परिष्कृत गर्दै आचरणयुक्त प्रहरी कर्मचारिका रुपमा आफुलाई स्थापित गर्दै लैजानुको विकल्प नरहेको समेत बताउनु भयो ।

सोहि अवसरमा प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले एसएसपी बोहरालाई समग्र बौद्ध एरिया अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन , अपराध अनुसन्धान लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।






