६ साउन , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद भीम रावलले नागरिकतामा सरकारले ‘छल’ गरेको टिप्पणी गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा नागरिक विधेयकमाथि संशोधन प्रस्ताव राखेका सांसद रावलले सरकारले सम्बन्धित समितिमा नपठाइ पारित गर्न खोज्नु छल भएको बताए ।
उनले भने, ‘यो छलफल होइन छल हो । नागरिकता जस्तो संवेदनशील विषयमा छल गर्नु निन्दनीय छ । देशको दीर्घकालीन विषयसँग गाँसिएको नागरिकता जस्तो संवदेशनशील विषयलाई समितिमा नपठाई जबरजस्ती अघि बढाइनु लोकतन्त्रको उपहास हो र निरंकुशता हो ।’
‘संसारमा कहीँ पनि नागरिकता खुकुलो हुन्न । संविधान निर्माणको समयमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले निश्चित समयावधि ५ वा ७ वर्ष नेपालमा निरन्तर रूपमा बसोबास गर्नुपर्ने भनि प्रमुख राजनीतिक दलका नेताहरुले गरेको सहमतिविपरीत राज्य व्यवस्था समितिले निर्णय गरी सात वर्ष प्रावधानलाई हटाउनु सहमतिको धज्जी उडाउँदै राष्ट्रप्रति बेइमानी गरेको ठहर्छ र यो राजनीतिक अनैतिकता पनि हो ।’





