Comments Add Comment

Advertisment

SKIP THIS

कार्वाहीमा ह्याटि्रक गरेका एसपी ज्ञवाली अझै सुध्रिएनन्, बागलुङमा घुमुवा प्रयोग गर्दै रकम असुल्दै

२६ साउन , काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी प्रमुखमा दयानिधी ज्ञवाली छन् । गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण बेलचौतारा तनहुँबाट सरुवा भइ बागलुङको प्रहरी प्रमुख का रूपमा सरुवा भएका एसपी ज्ञवाली एक बिवादास्पद पृष्ठभूमि भएका प्रहरी अधिकारी हुन् ।

नेपाल प्रहरीको अधिकृत जस्तो पदमा रहेका उनी इतिहासमा नै बदनामीको रूपमा रहेको प्रहरी रेकर्डमा उल्लेख छ । जहाँ जान्छ कहिँ न कहिँ, केही न केही कारणले उनी विवादित भइहाल्छन् । कहिँले भ्रष्टाचार काण्डमा त कहिँले आफ्नै प्रहरी कर्मचारीलाई यौन दुब्यवहार गरेको काण्डमा उनी बिवादित हुने गरेका छन् । प्रहरी कार्वाहीमा पनि उनलेे ब्रेक नै पार गरेका छन् ।

तर, उनको ब्यवहारमा भने अझै परीवर्तन आएको पाइदैन । प्रहरी रेकर्ड अनुसार प्रहरी निरीक्षक हुँदादेखी नै उनी बिवादित भइरहेका छन् । प्रहरी निरीक्षकको दर्जादेखी नै पटक पटक बिभागीय कार्वाही भोगिरहेका उनी हाल प्रहरी उपरीक्षकको दर्जासम्म आइपुग्दा पनि अझै सुध्रिएका छैनन् ।

जति सुकै कार्वाही भए पनि वा कार्वाहीमा परे पनि उनलाइ अब मतलब छैनन् । एमाले नेता प्रदिप ज्ञवाली र तत्कालीन गृह सचिव महेश्वर न्यौपानेसंगको अनैतिक सांगगाठ भएकै कारण उनलेे यतिबेला प्रहरी संगठन भित्र मनोमानी गरिरहेका छन् । तर, प्रहरी प्रधान कार्यालय मौन मात्र छैनन् कि रमिते नै भएर बसिरहेका छन् ।

कार्वाहीमा ह्याटि्रक !
२०७८ जेठ १३ गते दंगा नियन्त्रण गण बेलचौतरा तनहुँका प्रमुख हुँदा उनीमाथि आफ्नै कार्यालयकी एक विवाहित महिला प्रहरी जवानमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । यौन दुर्व्यवहारमा परेको भन्दै ती महिला जवानले प्रहरी प्रधान कार्यालयमा उजुरी दिइन् । उनलेे महिला प्रहरीलाई टेलिफोन तथा मोबाइलमा अभद्र म्यासेज गरेर यौन दुर्व्यवहार गरेका थिए ।

सुरक्षा संगठनभित्र उच्च दर्जाको अधिकारीले आफू मातहतको महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गर्नु गम्भीर आचरण उल्लंघन मानिन्छ । कडा अनुशासन पालना गर्नुपर्ने प्रहरी संगठनभित्र यस्ता एसपी ज्ञवाली जस्ता केही प्रहरी अधिकृतका कारण यौन हिंसाका घटना अझै रोकिएका छैनन् ।

पछि आरोप पुष्टि भएपछि उनलाई प्रहरी प्रधान कार्यालयले नसिहेत दिएको थियो । निलम्बन गर्नुपर्नेमा दबाबको भरमा प्रधान कार्यालयले उनलाई नसिहेत मात्रै दिएर थप कार्वाही हुनबाट जोगाइएको थियो । जसको मनपरी अझै जारी छ ।

२०६६ सालमा प्रहरी निरीक्षक हुँदा उनी महानगरीय प्रहरी बृत सोह्रखुट्टेका प्रमुख थिए । त्यतिबेला सोह्रखुट्टेमा ल्याइएका कुनै पनि घटना र आरोपका मानिस उनलाई रकम नदिई विरलै उम्किए । संगठित अपराधमा समलग्न दिनेश अधिकारी ‘चरी’ नयाँ बजार क्षेत्रबाट पक्राउ गरी प्रहरी भ्यानबाटै ८ लाख लिएर छाडिदिएका थिए ।

त्यति मात्रै होइन, २०७२ फागुनमा महानगरीय प्रहरी परिसर ललितपुरमा प्रहरी नायब उपरीक्षक हुँदा ललितपुरको एकान्तकुनामा रहेको जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन सम्बन्धी काम मिलाइदिने भन्दै अख्तियारको टोलीले डिएसपी दयानिधी ज्ञवाली, प्रहरी निरीक्षक रमेश बहादुर सिंहलाई तीन लाख रुपैयाँ घुस लिँदै गर्दा पुल्चोकस्थित थाइघर रेस्टुरेन्टबाट र प्रहरी नायव निरीक्षक पाण्डेलाई १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा काठमाडौं कलंकीस्थित स्टुडेन्ट क्याफेबाट नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको थियो । तर, विशेष अदालतले ज्ञवाली र सिंहलाई सफाई दियो भने जुनियर प्रहरी कर्मचारीलाई मात्रै दोषी ठहर्यायो । तर, यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन छ । महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत रहँदा डीएसपी दयानिधि ज्ञवाली अख्तियारकै ‘स्टिङ अप्रेसन’मा घुस लिँदै गर्दा पक्राउ परे। ज्ञवालीले जबर्जस्ती पैसा दिएको र आफूले घुस नमागेको दाबी गरेपछि अख्तियारले पोलिग्राफ परीक्षण गर्न स्वीकृति माग्यो । तर, पोलिग्राफ निर्देशिका २०७० बारे जानकार रहेका ज्ञवालीले पोलिग्राफ परीक्षण गर्न इन्कार गरे । परीक्षण हुन पाएन ।

२०७६ बैशाख २८ गते इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको प्रहरी प्रमुख हुँदा हिरासतमा रहेका आरोपितले आत्महत्या प्रयास गरेको घटनामा उनी बिवादित भए । कालिका नगरपालिका वडा नम्बर १ सूर्यपुर बस्ने २४ वर्षीय समिर घिसिङले हिरासत कक्षको शौचालयमा आत्महत्या प्रयास गरेका थिए ।

कालिका नगरपालिका वडा नम्बर १ पदमपुर मा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा ल्यापटप र कम्युटर चोरी भए पछि घिसिङ र कालिका नगरपालिका वडा नम्बर ७ का किसान तामाङलाई पक्राउ गरेको थियो ।

थुनुवा कक्षको छेउमै रहेको शौचालयको भेन्टिलेटरमा लगाइएको बाक्लो जालीमा अड्काएर सर्टको पासोमा घिसिङ झुण्डिएका थिए । घटना सार्वजनिक भएपछि कालिका नगरपालिका स्थानीयले इलाका प्रहरी कार्यालय टाँडीमा ढुंगामुढा र आगजनीको प्रयास गरेका थिए।

टाँडीमा गरिएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरी हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो । आन्दोलन हिंस्रक हुन थालेपछि उनलाई इलाका प्रहरी कार्यालय टाँडीबाट जिल्ला प्रहरी कार्यालयमा झिकाएको थियो ।

उनै विवादित डिएसपी ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेको दबावमा तत्कालीन आइजी ठाकुर प्रसाद ज्ञवालीले एसपीमा बढुवा गर्‍यो । जसको मनपरी अहिले पनि खुलेआम गरिरहेका छन् ।

यतिसम्म कि २०७८ असार १७ गते जिल्लाको इञ्चार्ज हुनका लागि ज्ञवाली निकै लागेका थिए । उनले कपिलवस्तु, मोरङ नभए पश्चिम नवलपरासीसम्म भएपनि पाउँ भन्दै नेताहरुकोमा हारगुहार गरेका थिए । तर, उनको सरुवा बागलुङ भयो ।

बागलुङ भएपछि उनलेे शान्तिसुरक्षा नियन्त्रणमा खट्नुपर्ने प्रहरी कर्मचारीलाई घुमुवामा खटाइ आर्थिक असुलीमा लिप्त गराइरहेका छन् । उनलेे घुमुवा प्रहरीलाई परिचालन गरेर कसरी हुन्छ असुली धन्दालाइ तीव्रता दिइरहेका छन् ।

राजधानीबाट सञ्चालनमा आएको केही अनलाइन पत्रकारलाई हातमा लिइ उनलेे प्रहरी संगठनभित्र मनोमानी गरिरहेका छन् । संगठनभित्रका सूचना चुहाइरहेका छन् भने आफ्नो पक्षमा सकारात्मक समाचार लेख्न र फेसबुक ग्रुपतिर हाल्न साथै, आफू समेतलाई ट्याग गरे राम्रो सन्देश प्रवाह गराउन भन्दै आफू निकटका पत्रकारलाई उनलेे उर्दी नै जारी गरेका छन् ।

आफूलाई मन नपरेको, आफ्नो विरुद्धमा लाग्ने तथा आफूले भनेको नमान्ने विरुद्ध उनी सुनियोजित रूपमा लागिपर्ने समेत गरेका छन् । तर, अनुगमनको अख्तियारी पाएको जिम्मेवार निकाय तै चुप मैं चुप हुँदा उनको मनोमानी र संगठनभित्रको चेन अफ कमान्डलाई समेत उनलेे चुनौती दिदै हिंड्ने गरेका छन् ।

हेड्क्वाटरमा उजुरी !
यता, बागलुङ प्रहरी प्रमुख दयानिधी ज्ञवाली विरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी परेको स्रोतले जनाएको छ । आफ्नो पदिय मर्यादा बिपरित संगठनले दिएको जिम्मेवारी बिपरित गतिविधिमा सक्रिय भएको भन्दै एसपी ज्ञवाली विरुद्ध आज बिहीबार प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखामा उजुरी परेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनी विरुद्ध गम्भीरतापूर्वक छानबिन तथा अनुसन्धान गर्नुपर्ने उजुरीमा उल्लेख गरिएको बताइएको छ । यता, प्रहरी प्रधान कार्यालयले भने ज्ञवालीविरुद्ध उजुरी प्राप्त भएको सत्य तथ्य छानबिन तथा अनुसन्धान गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै