२८ साउन काठमाडौ । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका पुरूषको उद्धार भएको छ।

शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा चिप्लिएर खसेका एक पुरूषको प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले न्युज24ग्यालेक्सीलाई जानकारी दिए ।
एक पुरूष चिप्लिएर खोलामा खस्दा बगाएको छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर पाएपछि प्रहरी प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोली परिचालन भएको थियो।
सो टोलीले उनी जिवितै रहेको र खोला किनारमा रहेको ढुंगामा अड्किरहेको अवस्थामा फेला पारेका थिए।
‘जीवित फेला परेको खबर पाएपछि ती पुरूषलाई नआत्तिन भनेर प्रहरीले गएर उद्धार गरेको हो,’ प्रहरी उपरीक्षक मैनालीले भने। उनको अपराह्न सवा ५ बजे उद्धार गरिएको हो।
घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत खटिएको थियो।







