९ भदौ , काठमाडौँ । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम ८-१११ औं समूहको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ ।

दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुद्धारा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायलाई सम्मान सलामी अर्पण गरिएको थियो । सलामी ग्रहण पश्चात प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक उपाध्यायले दिक्षान्त कवाजको निरीक्षण गर्नुभयो । दिक्षान्त कवाजको निरीक्षण पश्चात प्रर्शिक्षार्थीहरुद्धारा प्रदर्शन गरिएको कवाजको समेत प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले अवलोकन गर्नुभयो ।

त्यस पश्चात प्रत्येक प्रहरी कर्मचारीहरुले आ-आफ्नो धर्मअनुसारका धर्मग्रन्थ साथै नेपालको राष्ट्रिय झण्डा, विरताको प्रतिक खुकुरी र प्रहरी झन्डालाई साक्षी राखी आफू सदैव कर्तव्यनिष्ठ भई कुनै द्धेशभाव, लोभलालच, भेदभाव नराखी प्रहरी सेवा प्रदान गर्नेछु भनी सपथ लिएका थिए भने प्रदेश प्रहरी तालिम केन्द्र लुम्बिनी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र मैनालीले शब्दोचारण सहित प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

तालिममा विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरु तथा तालिममा खटिएका उत्कृष्ट प्रशिक्षकहरुलाई प्रहरी नायव महानिरीक्षक उपाध्यायद्धारा पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण पश्चात दिक्षित भई जान लागेका प्रशिक्षार्थीहरुलाई निर्देशन सम्बोधन गर्दै उहाँले तालिम अवधीमा हासिल गरेका ज्ञान, सिप र कौशललाई कार्यक्षेत्रमा ईमान्दारीपूर्वक लागू गर्न सके मात्र तालिमको उपादेयता पुरा हुने बताउनुभयो ।

साथै प्रत्येक प्रहरी कर्मचारी प्रहरी संगठनको मात्र सदस्य नभई राज्यको समेत प्रतिनिधि हुने भएकाले कुनै प्रहरी कर्मचारीले आफ्नो संयमता गुमाए त्यसको नकरात्मक प्रभाव राज्यले समेत भोग्नुपर्ने बताउँदै यसप्रति सदैव सचेत रहन समेत उहाँले आग्रह गर्नुभयो ।

धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रदेश प्रहरी तालिम केन्द्र लुम्बिनी प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र मैनालीले सफलतापूर्वक तालिम सम्पन्न गरेका प्रशिक्षार्थिहरुलाई व्यवसायीक तथा व्यक्तिगत जिवनको सफलताको शुभकामना सहित कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथिमा धन्यवाद व्यक्त गर्नुभयो ।

निष्पक्ष एवं पारदर्शी ढङगले कानून र जनभावना बमोजिम सेवा प्रदान गर्न आवश्यक सैद्दान्तिक तथा व्यवहारिक ज्ञान साथै परिवर्तित राजनैतिक तथा समाजिक अवस्थामा लोक कल्याणकारी राज्यको अवधारणालाई अंगिकार गरि जनमुखी सेवा प्रवाह गर्न आवश्यक ज्ञान, सिप, कला र कौशल हासिल गरि आजबाट कार्यक्षेत्र प्रवेश गरेका छन् ।







