कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा नेविसंघले गरेको प्रदर्शनमा ढुंगा हानाहान भएको छ ।आइतबार अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान भएको छ।त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटासहितले स्मृति भवनमा पत्रकार सम्मेलन गरेका थिए।
सोही बेला नेविसंघले उपकुलपतिले राजीनामा दिनुपर्ने, हुबहु प्रश्नपत्रबारे छानबिन समितिको प्रतिवेद सार्वजनिक गरिनुपर्ने लगायत माग राखेर प्रदर्शन गरिरहेको थियो।
ढुंगा हानाहानबाट एक प्रहरी निरीक्षकसहित दुई जना नेविसंघका नेताहरू घाइते भएका छन्। नेविसंघका भुवन जोशी र किशोर भण्डारी घाइते रहेको नेविसंघ नेता योगेन्द्र रावलले बताए।
नेविसंघले गत असारदेखि नै त्रिविका विभिन्न निकायमा तालाबन्दी गरेको छ। सो तालाबन्दी विरूद्ध अनेरास्ववियुले यसअघिदेखि नै प्रदर्शन गरिरहेको थियो।
त्रिविले पत्रकार सम्मेलन गर्दा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका थिए। सुरक्षा घेराभित्रै आफूहरूमाथि अनेरास्ववियुले ढुंगा हानेको रावलले आरोप लगाए।
‘अनेरास्ववियु लगाएर हामीमाथि ढुंगा हानियो, नेविसंघका २ जना र एक इन्स्पेक्टर पनि घाइते छन्,’ उनले भने।
त्रिविमा नेविसंघले तालाबन्दी गर्दा गत असारदेखि शिक्षक र कर्मचारीले तलब पनि खान पाएका छैनन्।
बिजुली, खानेपानीलगायतको नियमित विलसमेत तिर्न नपाउँदा जरिबाना तिर्नुपर्ने अवस्था आएको त्रिविको भनाइ छ।त्रिविले आफ्नो परिसरमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अपिलसमेत गरेको थियो।


