१६ भदौ , काठमाडौ । सम्झनामा १८ वर्ष अगाडिको भदौ १६ । भदौ १६ भन्ने बित्तिकै संसारभरका नेपालीहरुको कहाली लाग्दो दिन । दुई छाक टार्नका लागि विदेशी भूमिमा श्रम बेच्न बाध्य नेपालीहरुका लागि अझै कहाली लाग्दो दिन । रोजगारीका लागि इराक पुगेका १२ नेपालीहरुको हत्या भएको दिन आज १८ वर्ष नै पुगेको छ ।
इराकका सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ जना नेपालीको हत्या गरेको २०६१ को भदौ १५ गते नै भिडियो सार्वजनिक भएको थियो ।
आज भन्दा ठीक १८ वर्षअघि आजकै दिन नेपालका १२ युवाहरुको इराकमा घाँटी रेटेर र गोली हानेर हत्या गरिएको विरोधमा उपत्यका लगायतका स्थानमा विभिन्न प्रदर्शन भएका थिए । भिडियो सार्वजनिक भएपछि १६ गते देशभर आन्दोलन, तोडफोड एवं आक्रोश पोखिएको थियो ।
राजधानीकै मुनलाइन म्यानपावरमार्फत वैदेशिक रोजगारमा गएका उनीहरुको बर्बरतापूर्वक हत्या भएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि वैदेशिक रोजगारमा संलग्न कार्यालयहरुमाथि आम जनताको आक्रोश पोखिएको थियो । उता १२ जना होनाहार युवाको रगतको खोलो बगीरहेको बेला राजधानी लगायत देशभरिका म्यानपावर कार्यालयहरुमा आगो बलेको थियो । सयौं घरहरु आगलागी भएका थिए, हजारौं राहदानीहरु खरानी भएका थिए । १२ जनाको अन्तिम साससँगै हजारौं नेपालीहरुको सपना पनि तत्कालका लागि खरानी बनेको थियो ।
सोही दिन तत्कालिन समयमा प्रकाशित हुँदै आएको स्पेशटाइम दैनिक र कान्तिपुर दैनिकको कार्यालयमा पनि तोडफोड गरिएको थियो । उपत्यका भरि आक्रोशित मानिसहरु अनियन्त्रित बनेका थिए । म्यानपावर कार्यालयहरु ध्वस्त पार्ने क्रममा स्पेशटाइम दैनिक, कान्तिपुर दैनिक केका लागि टार्गेट बन्यो त्यो अहिलेसम्म पनि नखुलेको प्रश्न रह्यो । पछि गएर स्पेशटाइम दैनिक बन्द हुनुमा बाहिरी कारण त्यही नै देखिएको थियो ।
कतिपय प्रर्दशनकारीहरुले म्यानपावर कम्पनीमा भेटिएका नेपालीका राहदानीहरु ती पत्रिकाका कार्यालयमा बुझाउन गएका थिए, त्यही मध्ये कसैले स्पेसटाइम पनि मुस्लिमकै भएका कारण जलेको यदाकदा सुनिएको थियो । तर, कान्तिपुरमा केका लागि तोडफोड भयो त्यो अनुत्तरित नै छ ।


