७ कात्तिक , काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ४६ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनबीच चुनावी तालमेलका क्रममा माओवादी केन्द्रले ४६ क्षेत्रमा उम्मेदवारी दिएको छ ।
तीमध्ये काठमाडौं क्षेत्र नम्बर १० बाट माओवादीबाट अन्जना विशंखेले गठबन्धनबाहिरबाट एकल उम्मेदवारी दिएकी छन् । त्यसैले माओवादीबाट ४५ जनाले मात्रै गठबन्धनबाट उम्मेदवारी दिएका छन् । तीमध्ये ४१ जना मात्रै ‘ग्रीन जोन’मा देखिएका छन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा गठबन्धनको साथबाट माओवादी केन्द्रका ४२ जना उम्मेदवार ग्रीन जोनमा परेका छन् । अरु ३ जना भने गठबन्धन हुँदाहुँदै पनि कमजोर देखिएका छन् ।
काठमाडौं–१० बाट माओवादीको एकल उम्मेदवारी भएकाले वडा अध्यक्षको मत केलाउँदा कमजोर देखिनुलाई स्वाभाविकै रुपमा लिएको छ ।
प्रदेश–१ मा ७ उम्मेदवारमध्ये ४ जनामात्रै ‘ग्रीन जोन’मा
प्रदेश १ अन्तर्गत २८ प्रतिनिधिसभामा क्षेत्रमध्ये माओवादीले ७ क्षेत्रमा मात्रै उम्मेदवारी दिएको छ । जसमध्ये ताप्लेजुङका खेलप्रसाद बुढाथोकी र झापा हरिकुमार रानामगर गठबन्धन हुँदाहुँदै पनि रेडजोनमा देखिएका छन् । स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार पाएको मत केलाउँदा एमालेका उम्मेदवारभन्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका दुई जना तुलनात्मक रुपमा कमजोर देखिएका हुन् ।
ताप्लेजुङबाट सत्ता गठबन्धन अन्तर्गत माओवादीका खेलप्रसाद बुढाथोकीले उम्मेदवारी दिएका छन् भने एमालेबाट योगेशकुमार भट्टराई उम्मेदवार छन् । यसअघि यो क्षेत्रमा वाम गठबन्धनबाट भट्टराई निर्वाचित भएका थिए ।
ताप्लेजुङका नौ स्थानीय तह छन् । ती स्थानीय तह अन्तर्गत वडा अध्यक्षको मत केलाउँदा एमालेको पक्षमा बढी देखिएको छ । त्यसैले बुढाथोकी भट्टराईभन्दा कमजोर देखिएका हुन् ।
स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले २४ हजार २९५ मत पाएका थिए । त्यसैगरी कांग्रेसले १८ हजार २८४, माओवादी केन्द्रले ४ हजार ४९७, नेकपा एकीकृत समाजवादीले एक हजार ३०८ र जसपाले ९२३ मत पाएको थियो । यहाँ सत्तारुढ गठबन्धन घटकको सबै दलको मत जोड्दा पनि एमालेको तुलनामा कम नै हुन्छ ।


