१६ कात्तिक , काठमाडौ । नेपाल विद्युत प्राधिकरणले पोलमा टाँगिएका तार व्यवस्थापन गर्न इन्टरनेट तथा केवल टिभी सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केवलरको–एक्साइल केवल नियमानुसार व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
‘पोलमा झुन्ड्याइएका उपकरणले शहरलाई कुरूप बनाएको, आगलागी लगायतका विद्युतीय दुर्घटनाहरू बढ्दै गएकोमा हाम्रो ध्यानाकर्षण भएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘आगलागी लगायतका विद्युतीय दुर्घटना न्यूनिकरण गरी भरपर्दो विद्युतीय सेवा उपलब्ध गराउन तथा शहरी सुन्दरता समेत कायम राख्न तोकिए बमोजिम संरचना निर्माण तथा व्यवस्थापन गर्नुरगराउनु हुन अनुरोध छ ।’
प्राधिकरणको सूचना अनुसार अब इन्टरनेट तथा केवल टिभी सेवा प्रदायकले केबल जडान गर्दा दुई ओटा विषयलाई ध्यान दिनु पर्ने देखिन्छ । जसमा पहिलो पोलमा केबल टाङ्दा आफूले टाङ्ने केबल र विद्युतीय लाइन बीचको दूरी मापन गर्नुपर्ने हुन्छ । भने, दोस्रो फाइबर केबल र जमिन बीचको दूरी मापन गर्नुपर्ने भएको छ ।
प्राधिकरणका अनुसार ४०० भोल्ट लाइन अर्थात् नाङ्गो तार भएको विद्युतीय पोलमा फाइबर केबल र तार बीचको दूरी ८० सेन्टिमिटर हुनुपर्नेछ । त्यस्तै ४०० भोल्ट लाइन ९इन्सुलेटेड तार० भएको पोलमा फाइबर र तार बीचको दूरी ३० सेन्टिमिटर हुनुपर्नेछ । ११ केभि देखी ३३ केभि लाइन भएको पालेमा केबल र लाइन बीचको दूरी २।० मिटर हुनुपर्ने जनाइएको छ ।
त्यस्तै ४०० भोल्टका उपकरणहरूको हकमा तार र उपकरणबिचको दूरी ७५ सेन्टिमिटर हुनुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ । यसका साथै जमिन र केबलबीचको दूरी पैदल मार्गको हकमा २।४ मिटर र सडक मार्गको हकमा ५।५ मिटर हुनुपर्ने जनाइएको छ ।
फाइबर विस्तार गर्दा धरै कोर भएको फाइबर विस्तार गर्न र प्रयोगमा नभएका अप्टिकल फाइबर तथा उपकरण तत्कालै हटाउन समेत प्राधिकरणले निर्देशन दिएको छ । यसका साथै सेवा प्रदायकले आफ्नो केबल पहिचानमा सहजताका लागि अप्टिकल फाइबरमा ट्याग लगाउनु पर्ने समेत प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।






