२८ मंसिर , काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ । २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको प्रतिष्ठित ताज जित्न सफल भइन् ।
जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए । विश्व प्रतिष्ठित मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । सन् २०२० र सन् २०२१ को संस्करण कोभिड महामारीले हुन सकेका थिएनन् ।
यसपटकको पेजेन्टको नारा दिगो विकासका लागि सौन्दर्य राखिएको थियो । राष्ट्रसंघीय सहश्राब्दी लक्ष्यको लोगो लगाएर प्रतिस्पर्धीले र्याम्प नापेका थिए । प्रतिस्पर्धीले पाँच महादेशका कन्टिनेन्टल क्वीनको लागि पनि मतदान गरे ।नेपालबाट यसपटक न्यान्सी खड्काले प्रतिस्पर्धा गरेकी थिइन् । इभिनिङ गाउन, स्वीमसुट र अन्य क्रियाकलापमा राम्रो प्रतिक्रिया प्राप्त गरे पनि नेपाल अन्तिम १५ मा पनि प्रवेश गर्न सकेन ।


