२६ पुष , काठमाडौं । काठमाडौंको शिवपुरी जंगलमा नगद हार-जित हुने गरी ओखर खेलेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बौद्धले सोमबार अपराह्न पौने ५ बजे एक लाख ५ हजार ७९० रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
काठमाडौंको सुन्दरीजल बस्ने ४६ वर्षीय रविन्द्र विष्ट, ५० वर्षीय पागिमा शेर्पा र ३९ वर्षीय रामशरण गोतामेलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई गोकर्णेश्वर नगरपालिका-२ शिवपुर जंगलभित्र बराही मन्दिर नजिकैबाट पक्राउ गरेको हो।
उनीहरूले पैसा हार-जित हुने गरी ओखर खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
उक्त सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूमाथि प्रहरी वृत्त बौद्धले थप अनुसन्धान अघि बढाएको छ।