८ साउन , काठमाडौ । बुटवलको कालिकापथमा निर्माण व्यवसायीमाथि खुकुरी प्रहार गर्ने तीनजना पक्राउ परेका छन् । कालीगण्डकी निर्माण कम्पनीका सञ्चालक डिबी खत्रीका छोरा निर्मल खत्रीलाई होराइजन चोक नजिकै खुकरी प्रहार गरेको आरोपमा आइतबार प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई शरीर अंगभंग अभियोगमा मुद्दा दायर गरी अनुसन्धान अगाडि बढाएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी दानबहादुर थापाले बताए । खुकुरी तथा ढुंगा मुढा प्रहारबाट घाइते भएका निर्मलको टाउकोमा ६० वटा टाँका लगाइएको छ ।
डीएसपी थापाका अनुसार बिहीबार साँझ पीच गर्नका लागि कालोपत्रे लगाएर राखेको सडकमा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाउँदा सडक भत्किएपछि विवाद सुरु भएको थियो । भत्किएको सडकमा निर्माण व्यवसायी खत्रीले कादरीलाई क्षति दिनुपर्ने माग गरेपछि कादरीले शुक्रवार रकम लिन घर बोलाएका थिए ।
सहमति अनुसार रकम लिन गएका खत्रीका छोरालाई कादरीले ३० जना भन्दा बढी युवा बोलाएर कुटपिट गर्दै चक्कु प्रहार गरेका थिए । उक्त घटनामा संलग्न अन्य युवा भने फरार रहेको र उनीहरुको खोजी भइरहेको डीएसपी थापाले बताए ।



