१४ माघ , काठमाडौ । राजमार्ग ओगटेर बनेका भौतिक संरचनाहरूमा इटहरी उपमहानगरले शुक्रवार डोजर चलाइ भत्काएको छ ।
इँटहरीको विराटनगर रोडस्थित २ वटा घरहरूमा डोजर लगाएर भत्काइएको हो । रानी विराटनगर जोगवनी किमाथांका ६ लेन राजमार्ग अन्तरगत सडक क्षेत्रभित्र पर्ने घरटहरा हटाउने अभियान अन्तरगत शुक्रवार देखी इटहरीमा डोजर चलाइएको इटहरीका मेयर हेम कर्ण पौडेलले बताए । सडकको क्षेत्रमा रहेका घरहरू अब सबै भत्किनेछन् मेयर पौडेलले भने ।
उपमहानगरले विराटनगर रोडमा सरोज चौधरीले बनाएको एक तले पक्की भवनमा डोजर चलाइ अभियानको सुरुवात गरेको बताएको छ । पटक पटक सूचना जारी गर्दा पनि घरधनीहरूले अटेर गर्दै आएकोमा शुक्रवार अचानक डोजर चल्न थालेपछि केही समय विवाद भएको थियो ।
घर धनीहरूले सूचनाको अटेर गरिरहँदा ६ लेन सडक परियोजना इटहरीमा लथालिङ्ग बनेको थियो ।
इटहरीका राजनीतिक दल , प्रहरी प्रशासन लगायत सर्वपक्षीय छलफल गरेर राजमार्ग क्षेत्रमा पर्ने घरहरू हटाउने निर्णय स्वरूप शुक्रवार वाट अभियान थालिएको इटहरी उपमहानगर वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले बताए । सडक परियोजना अन्तरगत ५५ फुट कायम हुने गरी शुक्रवार देखी डोजर चलाइएको उपमहानगरले जनाएको छ ।





