Comments Add Comment

Advertisment

SKIP THIS

उपनिर्वाचनमा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने

१९ चैत , काठमाडौ । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने बारा निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्ने भएका छन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए। बैठकले २०७९ सालमा सम्पन्न भएका तीनै तहका निर्वाचनपूर्वका निर्वाचनहरूमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारका प्रस्तावक वा समर्थक बसेका पार्टीका सदस्यमध्ये तनहुँ, चितवन र बारा जिल्लाको हकमा पार्टीको क्रियाशील सदस्यता निरन्तरतासहित कायम रहने निर्णय गरेको छ ।

यसैगरी बैठकले कांग्रेस केन्द्रीय कार्यालय सञ्चालन निर्देशिका, २०७९ र कांग्रेस केन्द्रीय कार्यालय कर्मचारी विनियमावलीमा प्राप्त सुझावसमेतलाई समावेश गर्ने गरी परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको सरकारमा मन्त्री पदको जिम्मेवारी प्राप्त गरेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र शहरी विकासमन्त्री सीता गुरुङलाई बधाई ज्ञापन गर्दै प्रभावकारी सफलताको कामना गरेको छ ।

बैठकले राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकामा उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री भीष्मराज आङ्दम्बे, सहमहामन्त्री महेन्द्र यादव, सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, जीपछिरिङ लामा र विशेष आमन्त्रित रमेश लेखकले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment