Comments Add Comment

Advertisment

SKIP THIS

फोहोरबाटै आश्रम सञ्चालनको तयारी

३० वैशाख , काठमाडौ । झापा आसपासका क्षेत्रमा एक व्यक्ति फोहोर टिपिरहेका छन् । हुलियाले उनी फोहर टिपेर गुजारा गर्ने जस्तो देखिँदैनन् । तर, उनीको साइनो फोहोरसँग नै छ । उनी हुन् झापाको अर्जुनधारा नगरपालिका–११ का गणेश ढुंगाना ।

माओवादी पूर्वलडाकु समेत रहेका उनी सामाजिक कार्यका लागि फोहोर टिपिरहेको बताउँछन् । माओवादी सेनाबाट बहिर्गमन भएपश्चात गणेश ढुंगाना गाउँ समाजमा केही गरौं भनेर लागि रहे ।

आफू अनाथ भएकै कारण अनाथहरुका लागि केही गरौं भन्ने सोचका साथ उनी अगाडि बढे । तर आर्थिक अवस्था कमजोर भएकाले २०७३ सालबाट फोहोर संकलन र व्यवस्थापनमार्फत रकम जुटाउन तर्फ लागे ।

सुरुमा बोरामा फोहोर बोकेर हिँड्दा उनलाई मानसिक रोगी भनेर धेरैले गिज्याए । तर अहिले उनको कार्य देखेर ती नै मानिसहरुले प्रशंसा गर्न थालेका छन् ।

दैनिक संकलन गरिएको प्लाष्टिकजन्य फोहोर बिक्री गरी अनाथ बालबालिकाका लागि खर्चको जोहो गर्छन् उनी । प्लाष्टिकजन्य फोहोर बिक्रीबाट आएको रकमले अनाथ आश्रम निर्माणका लागि अर्जुनधारा ११ स्थित बुट्टाबारीमा एक कठ्ठा जग्गा खरिद गर्न बैना दिइसकेका छन् ।

फोहोर बेचेर आएको पैसा लगानी गरेर अनाथ आश्रम निर्माण थाल्ने योजनामा रहेको उनी बताउँछन् ।

एक व्यक्तिले अभियान नै चलाएर अनाथ बालबालिकाका लागि अनाथ आश्रम बनाउँन खर्चको जोहो गर्ने उद्देश्यले दिनरात नभनी फोहोर संकलन गरिरहँदा त्यसलाई सफल पार्न आफुहरु पनि सहयोग गरिरहेको सामाजिक अगुवाहरु बताउँछन् ।

सहयोगापेक्षीहरुलाई सहारा बनेको गणेशको अभियानलाई राज्यको सहयोग भए समाजसेवाको कार्यले प्रभावकारिता पाउने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment