काठमाडौं । वानएक्स बेटमा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकारसहित आठ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार प्रतिबन्धित अनलाइन बेटिङ प्रवर्द्धन गरेको आरोपमा कलाकार र युट्युबरहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय पवन खतिवडा ‘म्याकुरी’, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने कलाकार तथा युट्युबर अलिश राई रहेका छन् ।
त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर ‘जलन’, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली रहेका छन् ।
उनीहरूलाई प्रहरीले निगरानी गरिरहेको थियो । युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो ।
बुधबार मात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।






