Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँको टोखाद्वारा खेलकुदतर्फ एक करोड विनियोजन

२० असार , काठमाडौ । काठमाडौँको टोखा नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि स्थापना गरेको खेलकुद विकास कोषका लागि रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । टोखाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि टोखाभित्र विभिन्न खेलकुदको विकासका लागि उक्त रकम विनियोजन गरेको हो ।

टोखाले नगरभित्रका घरमा डिजिटल घर नम्बर वितरण गर्ने भएको छ । टोखाले आगामी आवमा नगरपालिकाभित्रका घरमा डिजिटल घर नम्बर वितरण सुरुआतका लागि रु ५० लाख विनियोजन गरेको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । नगरभित्रका दीर्घरोगीलाई निःशुल्करूपमा औषधि वितरण गर्नका लागि रु ५० लाख विनियोजन गरेको छ । नेपाल प्रहरी एवं नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ‘मेयर उज्यालो कार्यक्रम’ तथा ‘जनता सुरक्षा कार्यक्रम’अन्तर्गत सडकबत्ती तथा सिसी क्यामेरा जडानका लागि रु दुई करोड विनियोजन गरिएको नगर उपप्रमुख तामाङले बताए ।

सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीलाई सरकारले प्रदान गर्दै आएको रकममा रु पाँच थप गर्नुका साथै कक्षा ७ देखि १० सम्म अध्ययनरत बालबालिकालाई रु २० का दरले हुने गरी मेयर दिवाखाजा कार्यक्रमका लागि रु ७८ लाख विनियोजन गरिएको छ ।

वडा समितिबाट सिफारिस भई आएका योजना तथा कार्यक्रमका लागि रु ३१ करोड विनियोजन गरिएको उपप्रमुख तामाङले बताए । यस्तै नगर पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत स्थानीयवासीको माग तथा वडा कार्यालयको सिफारिसअनुसार गुणस्तरीय आयोजना पहिचान गरी कार्यपालिकाको निर्णयानुसार कार्यान्वयनका लागि रु दुई करोड विनियोजन गरिएको छ ।

नगरपालिकामा रहेका घर नक्सासम्बन्धी सम्पूर्ण फाइललाई डिजिटल माध्यमबाट व्यवस्थित गर्न रु ३० लाख, नगरपालिकाभित्रका उपयुक्त स्थानमा एक वडा, एक पार्क, एक वडा एक शौचालय, एक वडा एक खुला व्यायमशाला निर्माणका लागि रु एक करोड विनियोजन गरिएको छ ।

नगरपालिकाभित्रका विभिन्न खोला खोल्सी नदी नियन्त्रणका लागि रु एक करोड, टोखाभित्र सीपमूलक युवा रोजगारमूलक कार्यक्रम सञ्चालनका लागि रु एक करोड, टोखाभित्रको संस्कृति प्रवर्द्धन, संरक्षण र विकासका लागि संस्कृति संरक्षण कोषका लागि रु ८० लाख विनियोजन गरिएको नगर उपप्रमुख तामाङले बताए ।

नगरपालिकाले आगामी आवका लागि स्वास्थ्य शाखालाई रु तीन करोड २५ लाख, शिक्षा युवा तथा खेलकुद शाखालाई रु तीन करोड ५० लाख, कृषि शाखालाई रु ९० लाख, महिला तथा बालबालिका शाखालाई रु ४० लाख, पशु सेवा शाखालाई रु ५५ लाख, सहकारी शाखालाई रु ३० लाख विनियोजन गरिएको जनाएको छ । टोखाले आव २०८०÷८१ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु एक अर्ब ८८ करोड विनियोजन गरेको छ । चालुतर्फ रु ६२ करोड तीन लाख ७० हजार र पुँजीगततर्फ रु एक अर्ब २५ करोड ९६ लाख हजार विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment