२० असार , काठमाडौ । वानएक्स बेटमार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले अन्य केही व्यक्तिहरूको नागरिकता प्रयोग गरेर करोडौँ रुपैयाँको कारोबार गरेको पाइएको छ ।
गत जेठ ३० गते पक्राउ परेका खड्काले केही व्यक्तिहरूको नागरिकता प्रयोग गरी उनीहरूको मन्जुरी बिना ४२ वटा खाता खोलेर विद्युतीय माध्यमको दुरुपयोग गरी अनधिकृत रूपमा खातामा ३१ करोड ३२ लाख ६४ हजार २५२ रुपैयाँ जम्मा गरी सो रकम अन्य खातामा पठाएको खुल्न आएको हो ।
यस सम्बन्धमा दुई जना पीडितहरूको बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ ९क० र ९ख०, दफा ५ को ९क० र ९ग० र दफा ६ बमोजिम को कसुर गरेको विरुद्ध किटानी जाहेरी दरखास्त प्राप्त भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उक्त सक्कल जाहेरी दरखास्त लगायतका अन्य कागजातहरू आवश्यक कारबाहीको लागि मङ्गलवार जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।






