(ईश्वर दुलालल) काठमाडौ । प्रहरी अधिकारीहरुले नेतृत्व गरेको जिल्ला,प्रदेश वा विभागको कार्यकाल सकिदै गर्दा केही न केही छाप छाडेर जान्छन् ।

अझ जिल्ला नेतृत्व गरेर विदा हुने बेला प्रहरी अधिकारीहरुको प्रंससा पाउने भन्दा आलोचना पाउने धेरै हुन्छन । विभिन्न कारणले आलोचना पाउने प्रहरी अधिकारीहरु धेरै नै हुन्छन । तर त्यस्ता केही प्रहरी अधिकारीहरु छन,जसको विदाई तथा सरुवामा मातहतका कर्माचारी तथा स्थानिय नागरिकहरु असाध्यै नरमाइलो अनुभुति गर्छन ।

नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको छवि बनाउन सफल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दान बहादुर कार्कीको विदाई कार्यक्रममा काठमाडौंबासी र मातहतका कमाचारीले त्यस्तै नरमाइलो अनुभुति गरे ।

एसएसपी दान कार्कीले गरेको काम, उनको समयमा तस्कर विचौलिया र भ्रष्टहरुको भागाभाग भएको जनता सबैले सदैव सम्झिरहने छन् । जनताले त्यस्ता कामहरुको लागि ती अधिकृतलाई सदैव सम्मान गरिरहने छन् । झन जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने काठमाडौं जिल्ला प्रहरी प्रमुखको रुपमा कार्कीले जनतासँग सकेसम्म मिजासपूर्ण सहकार्यमा समन्वय गरिरहे ।

एसएसपी कार्कीले छाेटाे समयमै भएको आफ्नो सरुवालाई सामान्य रूपमा लिएको टिप्पणी गरेका छन् । परिसरबाट सरुवा भएपछि आफ्नो कार्यकालमा भएका प्रगतिबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा आफूले गरेका कामबाट आफू सन्तुष्ट रहेको बताउँदै सरुवालाई सामान्य रूपमा लिएको बताए ।

उनले भने, ‘आवश्यकता अनुसार सरुवा हुन्छ । सरुवा काम गर्नका लागि हो । आफ्नो तोकिएको काम गर्ने हो । मलाई तोकिएको काम मैले यहाँ गरे । अब आउनेले पनि गर्नु हुन्छ । कानुनले तोके बमोजिमको काम गर्ने हो । अर्को ठाउँ गए पनि मेरो काम निरन्तर हुन्छ । सामान्य छ यो कुरा । हाम्रो संगठनले दिएको भूमिका निर्वाह गर्ने हो । त्यसमा म खुसी छु ।’

उनले २०७९ माघ देखी २०८० श्रावण महिनासम्मको कार्यकालमा प्रहरी हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरेको विषयलाई उल्लेख्य कामको रूपमा अर्थ्याए । कैदीहरू आफ्नो शुद्धीकरणको लागि पुस्तकको प्रयोग गर्न सक्ने भन्दै प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालीमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको बताए ।

यस्तै, उक्त कार्यकालमा जिल्ला प्रहरी परिसर, काठमाडौं तथा मातहतसमेतको सेवा लिन आएका सोह्र हजार पाँच सय पैसठ्ठी सेवाग्राहीहरूलाई सेवा प्रदान गरेको र यस परिसर तथा मातहत कार्यालयहरूमा ८३ वटा सिसिटिभी जडान गरेको बताए ।