पश्चिम नवलपरासीको सरावलबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । आइतबार सरावल गाउँपालिका–७ भुजहवाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका रामपत गुप्ता र सोही ठाउँका गफ्फार राइन कुजडा रहेका छन् । उनीहरूले कम्मरमा पेटीले बाँधेर ल्याएको रकममा १ हजार १९० थान हजार र १ हजार ६२० थान पाँच सयका नोट रहेका छन् ।
नम्बर प्लेट नराखिएको मोटरसाइकलमा जाँदै गरेका दुई जना युवालाई शंका लागेर जाँच गर्दा उनीहरूको साथमा स्रोत नखुलेको २० लाख फेला परेको नवलपरासीका प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले बताए । पक्राउ परेको स्थल भारतीय सीमानजिक हो । पक्राउ परेका व्यक्तिमध्येका गुप्ताले आफूलाई दाइले कारोबारको रकम लिन पठाएको प्रहरी समक्ष बताएका छन् ।
पक्राउ स्थलबाट १ किलोमिटर दुरीमा रहेको एक गल्ला (धान, गहुँलगायतका खाद्य सामाग्री खरिद गर्ने पसल) व्यवसायीसँग रकम लिन पठाएकाले सोही रकम लिएर आएको गुप्ताले बताएका छन् ।
सीमावर्ती भारतीय बजारमा नेपाली रुपैयाँबाट कारोबार हुने गर्दछ । सीमा क्षेत्रमा नेपाल र भारतीय व्यापारीहरूबीच व्यापारिक कारोबार हुने गरेको छ ।
उक्त रकम भारतीय व्यापारीबाट नेपाली व्यापारीले ल्याएको हुन सक्ने आशंका गरिएको छ ।
यद्यपि सीमा क्षेत्रमा हुण्डीको कारोबार हुने र लागुऔषध ओसारपसारका लागि पनि उक्त रकम ल्याएको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।