Comments Add Comment

Advertisment

SKIP THIS

सुन तस्करीमा संलग्न माओवादी नेतालाई सीआइबीले जोगायो

३ असोज , काठमाडौ । राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब ६० किलो सुन तस्करीमा केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले अनुसन्धान सिध्याएर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाए लगत्तै अदालतमा मुद्दा प्रवेश भएको छ ।

व्यूरोले राजनीतिक व्यक्तिहरूलाई सुन तस्करीमा कोही कसैलाई पनि दोषी नदेखाई अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले पनि राजनीतिक व्यक्ति कोही कसैलाई प्रतिवादी नबनाई अदालतमा मुद्धा दायर गरेको छ । यसको अर्थ थप अनुसन्धानका लागि अर्को छानबिन समिति बनाउन बाटोसमेत खुला भएको छ ।

गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अघि बढिसकेको बताएका छन् । तर, अनुसन्धान आयोग नबनाई प्रचण्ड राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकातर्फ लागेका छन् ।

गत बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘सुन प्रकरणमा सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग गठनको प्रक्रिया अगाडि बढेको छ ।’ अब बन्ने आयोगलाई राजनीतिक कनेक्सन पत्ता लगाउने दायित्वसमेत रहेकाले भूमिका निकै ठूलो हुने देखिएको छ ।

पटकपटक गरी ब्रेक सुमा ३६० किलो ७७८ ग्राम तस्करीको सुन राखेर ल्याइएको निष्कर्ष निकालेको सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा राजनीतिक दलका नेतालाई चोख्याएपछि संसदबाट अब बन्ने आयोगले सुन तस्करीमा संलग्न राजनीतिक व्यक्तिहरू माथि छानबिन गर्ने बाटो खुलेको छ ।

सिआइबीले राजनीतिक व्यक्तिलाई उन्मुक्ति दिने शंका भएकैले प्रतिपक्ष एमालेले आयोग बनाउनुपर्ने माग उठाएको थियो । एक महिनासम्म त्यही मागलाई लिएर संसद अवरुद्धसमेत भएको थियो । अब एमालेको काँधमा सुन तस्करका मालिक र त्यसमा संलग्न राजनीतिक नेताहरूमाथि छानबिन गर्नुपर्ने दायित्व थपिएको छ ।

पछिल्लो पटक गत साउन ३ गते बरामद ६०।७१६ किलो सुन प्रकरणमा नेपालतर्फका मुख्य व्यवस्थापक दाओजिन वाङ र चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य प्रतिवादी बनाएको सिआइबीले उनीहरूसँग जोडिएका राजनीतिक व्यक्तिहरूलाई भने प्रतिवेदनमा केही उल्लेख नगरी चोख्याएको छ ।

गत पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्री ली हानसोङले ई–सिगरेट ९भेप० भित्र राखेर ल्याएको करिब ९ किलो सुन र पटकपटक ब्रेक सुमा लुकाएर सुन ल्याउने समूहको नाइके एउटै भएको उल्लेख गर्दै प्रतिवेदनमा दाओजिन वाङलाई मुख्य व्यवस्थापक रूपमा प्रस्तुत गरिएको छ ।

सिआइबीले होटल भियनाका सञ्चालक दावा छिरिङलाई सुन तस्करीको मूल बिचौलिया बनाएको छ । तर उनीहरूसँग जोडिएका माओवादी केन्द्रका उच्च नेताहरूबारे भने केही पनि नखुलेको प्रतिवेदनमा छ । तर दावा छिरिङसँग बिहे गरेकी माओवादी केन्द्रनिकट अमल रोकालाई भने प्रतिवादी बनाइएको छ । उनी फरार छन ।

तस्करको समूहले सुन तस्करीमा माओवादी केन्द्रका नेता–कार्यकर्तालाई प्रयोग गरेको पनि पाइएको थियो । अघिल्लोपटक सुन तस्करीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउँदा माओवादी केन्द्रका नेताहरूको संलग्नताबारे स्पष्ट खुलाएको थियो । तर यसपटक भने त्यसलाई पुरै लुकाइएको छ ।

सिआइबीले गरेको अनुसन्धानबाट यो समूहले ३६० किलो ७७८ ग्राम सुन ब्रेक सुमा लुकाएर ल्याएको निष्कर्ष निकालेको छ । साथै, यो समूहले अरू विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिएकाले पूरक अनुसन्धान गर्ने सिआइबीको भनाइ छ ।

सिआइबी स्रोतका अनुसार दाओजिन वाङ र दावा छिरिङको सम्पर्क माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग देखिएको छ । छिरिङले ठमेलमा सञ्चालन गर्दै आएको होटल भियना र उनको कम्पनीमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका भाइ प्रनिश पुन साझेदार देखिएका थिए ।

छिरिङले नेपालमा सुन उत्खनन् गर्न खोलेको एक कम्पनीमा अमला रोका, मञ्जिल श्रेष्ठ, चिनियाँ नागरिक जिलियाङ, चेन काइमु, गुआङपेङग जोङ र प्रनिश पुन साझेदार छन् ।

प्रहरीले सोधपुछका लागि कृष्णबहादुर महरा, वर्षमान पुन, दीपेश पुन, प्रनिश पुन, अमला रोका, बिन्दु मगरलगायत २५ जनाको सूची बनाए पनि दीपेश पुनलाई मात्रै बोलाएर सोधपुछ गरेको थियो ।

सुन तस्करी प्रकरणमा सिआइबीले विमानस्थल अध्यागमनका तत्कालीन प्रमुख सहसचिव झलकमान अधिकारी, व्यवसायी भीमकान्त भण्डारीसँग सोधपुछ गरेको विषयलाई अनुसन्धान प्रतिवेदनमा उल्लेख गरे पनि प्रतिवादी नबनाएर जोगाएको छ ।

हालसम्मको अनुसन्धानका क्रममा ‘नेपाली तथा विदेशी नागरिक गरी जम्मा ३२ पक्राउ परेका र रेडिट्रेड प्रालिबाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाईछिपाई अवैध पैठारी गरेको जम्मा बरामद ६०।७१६ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट यकिन गरिएको ३०२।०६२ किलो गरी जम्मा ३६२।७७८ किलोग्राम सुनको हुन आउने मूल्य ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रूपैैयाँ बराबरको सुन अवैध पैठारी भएको पुष्टि हुन आएको’ सिआइबीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

तिब्बती मूलका भारतीय नागरिक दुवै समूहले थुप्तेन छिरिङले ली र लिनमार्फत आएको सामान रिसिभ गर्ने, त्यसमा लुकाएर ल्याएको सुन पगालेर बिस्कुटको आकार दिने र वितरण गर्ने काम गर्थे । यसका लागि टोखाको समूहले तीनवटा गाडी भाडामा लिएर प्रयोग गर्ने गरेको थिए । लाजिम्पाटको समूहले भने भाडाको ट्याक्सी र स्कुटर प्रयोग गर्ने गरेको थियो ।

यो सबै कामको अनुगमन तथा रेखदेखको जिम्मेवारी भने दावा जिङ र तोङ चिन हुवासमेत गरी पाँचजनाको समूहले गर्ने गरेको थियो । तस्करी गरेर ल्याइएको सुन कसलाई बेच्ने भन्ने हङकङबाटै टुंगो लगाएर पठाइने सिआइबीको दाबी छ ।

अनुसन्धान अधिकृतहरूका अनुसार उनीहरूले सुन किन्नेलाई कोडका रूपमा नेपाली वा भारतीय नोटको नम्बर वा कोड दिने गरिएको दाबी गरिएको छ । त्यही कोडका आधारमा किशोर बस्नेत र समीर खरेलले भारतीय व्यक्तिलाई दिने गरेका थिए ।

सुनको भुक्तानी भने डिजिटल वालेट र क्रिप्टो करेन्सीको माध्यमबाट हङकङमा पुग्ने गरेको थियो। सुमनले बाराका सुनचाँदी व्यवसायी शिवकुमार सर्राफसम्म पु¥याएका थिए । सुन किन्ने भारतीय व्यवसायी पनि छन् तर फरार रहेकाले प्रहरीले नाम खुलाएको छैन । सुनको पैसा लिने जिम्मा भने दावा छिरिङले लिने गरेको देखिएको छ ।

सिआइबीले अनुसन्धानका क्रममा सुन तस्करीका लागि सातवटा कम्पनी खडा गरिएको जनाएको छ । ती कम्पनीमा लेखनाथ कार्की डोली सञ्चालक रहेको चुंगक इलेक्ट्रिक सप्लायर्स काठमाडौं, रामकुमार भुजेल सञ्चालक रहेको भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालि, कुमारबहादुर भुजेल सञ्चालक रहेको हवडा इलेक्ट्रिक सप्लायर्स प्रालि छन् ।

यसैगरी रामबहादुर भुजेल सञ्चालक रहेको पवाटी इलेक्ट्रिक सप्लायर्स प्रालि, बिकुन्द्र भुजेल सञ्चालक रहेको दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालि, दिलीप भुजेल सञ्चालक रहेको रेडी ट्रेड प्रालि र सरिता तामाङ सञ्चालक रहेको सरिता सप्लायर्स छन् । यी कम्पनीहरूमार्फत सुन तस्करी भएको सिआइबीको प्रतिवेदनमा जनाइएको छ ।

यसैगरी सुन तस्करहरूले हङकङबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्र्यााएको सुन काठमाडौंका दुई स्थानमा गोप्य रूपमा गाल्दै आइएको थियो। यसका लागि १० थान सुन पगाल्ने मेसिन प्रयोग भएको सिआइबीको भनाइ छ ।

सिआइबीको अनुसन्धान प्रतिवेदनअनुसार तस्करहरूले टोखा नगरपालिका–२ र काठमाडौं महानगरपालिका–२ लाजिम्पाटमा तस्करीको सुन गाल्दै आएको फेला पारेको छ । ती स्थानबाट अम्खोरा, कचौराजस्ता भाँडा बनाई त्यसमा लुकाएर सुन भारत तस्करी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

भारतमा सुन तस्करी गर्न भारतीय महिलाहरूलाई प्रयोग गरिएको पनि खुलेको छ । सिआइबीका डिएसपी धर्म भण्डारीले भारतीय प्रहरीको सहयोगमा भारतबाट बस्नेत र खरेललाई पक्राउ गरी नेपाल ल्याएपछि सर्राफ समातिएका थिए । सर्राफले नै सिंहको नाम खुलाएका थिए । तस्करी प्रकरणमा नाम मुछिएका दीपेश पुनलाई पनि बयान लिइएको थियो । उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् ।

९ किलो सुनमा जोडिएका र हाल सिआइबीको थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पनि बयान लिइसकेको छ । यी बाहेक प्रहरीले तस्करीमै संलग्न तर हाल फरार सूचीमा रहेका भोला साह ९सोनार०, जीवन चलाउने, सुन तस्करका नाइके दावा छिरिङकी पत्नी अमला रोका, चिनियाँहरू जोङ जियानहुवा, साम भन्ने झोङ जिङछुवान, पेङ लिङ फेङ, दावाजिन वाङ, आसीन भन्ने पेङ योङ सिन, पूरा नाम नखुलाइएका ली, लीन, माइकल झाङ, एरिक माओ, टेडी, लुओरोङ गोंबु, बिङ, भारतीय नागरिक राकेश सिंह, राजु माडवारी र योगी इन्टरप्राइजका सञ्चालक ब्रिस्लेरी वाला पनि प्रतिवादी बनाउन सिफारिस गरेको थियो ।

अनुसन्धानका क्रममा सिआइबीका एसएसपी दिनेश आचार्य हङकङ पुगेका थिए। त्यसक्रममा त्यहाँ चिनियाँ अधिकारीहरूसँगको सहकार्यमा उनले तस्करी भएको सुनको उद्गमस्थल हङकङ नै भएको पुष्टि गराएका थिए । उनले त्यहाँबाट पहिचान गरेका मुख्य व्यक्तिहरू चिनियाँ नागरिक ली र लिन हुन् । ली र लिनले नेतृत्व गरेको पाँचजनाको समूहले नै नेपालमा सुन तस्करी गराएको थियो ।

उनीहरूले विद्युतीय उपकरणमा लुकाएर सुन नेपालमा पठाउने गरेको र पछिल्लो समय ब्रेक सुमा पठाउने गरेको खुलेको छ। क्यारी अन ग्लोबल लजिस्टिक कम्पनीमार्फत एयर कार्गो गरेर पठाइएको सामानमार्फत नेपालमा सुन आएको अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाले बताएका थिए ।

उनका अनुसार आइपुग्ने सुन रिसिभ गर्ने, गालेर गोदामसम्म पु¥याउने कामको नेतृत्व तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङले गरेका थिए। पत्रकार सम्मेलनमार्फत दिइएको जानकारीअनुसार सुन लुकाएर ल्याउने सामानहरू आयात गर्न थुप्तेनले हर्कराज राईमार्फत नेपाली नागरिकको नाममा सातवटा कम्पनीमार्फत भएको थियो ।

६० किलो सुन आयात गर्ने ब्रेक सु ल्याउने रेडी ट्रेड दिलीप भुलेजका नाममा खोलिएको थियो। कुमार भुजेलका नाममा हवाडा इलेक्ट्रोनिक सप्लायर्स, रामकुमार भुजेलका नाममा भुजेल इन्टरप्राइजेज र पवटी इलेक्ट्रोनिक्स, सन्तोष तामाङका नाममा सरिता सप्लायर्स, लेकनाथ कार्कीका नाममा छुन्डुक इलेक्ट्रोनिक्स, बिकुन्द्र भुजेलका नाममा दोलखा इलेक्ट्रोनिक्स खोलिएको थिया े। ती सबै कम्पनी सुन ल्याउन खोलिएको सिआइबीले जनाएको छ ।

चिनियाँ सुन तस्कर अली भन्ने ली वेन सुङले हालसम्म आफूसमेतको संलग्नतामा १ सय ३३ पटक हङकङबाट सुनसहित सामान आएको बयान दिएका छन । आफूले महिनाको १० हजार चिनियाँ मुद्रा पाउने गरेको र कहिलेकाहीं क्यासिनोमा गएर जुवा पनि खेल्ने गरेको स्वीकार गरेका छन ।

तस्करीको सुन व्यवस्थापन गर्न र आफू हिँडडुल गर्दा प्रयोग गर्ने गाडीमा जीपीएस जडान गरिएको र त्यसबाट को–कहाँ जाने गरेको भन्ने पनि थाहा हुने गरेको बयान दिएका छन ।

चिनियाँ तस्करका सहयोगी छिरिङ थुप्तिनले बयानमा आफूले २ लाख रुपैयाँ लिएर घर खोज्ने, कम्पनी खोल्ने र भन्सारबाट गाडीमा सामान तोकिएका ठाउँसम्म पु¥याउने भूमिकामा रहेको स्विकारेका छन् । यी फर्मबाट १ वर्षमा साढे ३ अर्ब बढीको सुन भित्रिएको अनुसन्धानबाट पुष्टि भएको हो ।

सिआईबीले सुन निकालिएका ब्रेक–सु मात्रै १ हजार १ सय ८० थान र सुन गाल्ने १० थान मेसिन बरामद गरेको छ । सुन तस्करी गर्नकै लागि २०७९ चैत १९ मा दिलीप भुजेलका नाममा रेडी ट्रेड फर्म दर्ता गरिएको थियो । ब्रेक–सु, इलेक्ट्रिक आइटमलगायत सामान ल्याउने भन्दै खोलिएको फर्मबाट तस्करले सुन लुकाएर ल्याउने गरेको भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment