काठमाण्डौ, काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट शुक्रबार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
एआईजी थापाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र व्यवहारमा बढी गुनासो आउने गरेको हुदा “जिव्रोको गरिमा मिठो बोलीमा” व्यवहारमा अवलम्वन गर्दै मुस्कान सहितको नागरिक मैत्री सेवा प्रदान गरी उच्च व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिनुभयो ।

सोही क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा सो मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सम्वोधन गर्दै काठमाण्डौ उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायको ध्यान पुग्ने मानव अधिकारको प्रत्याभूति दिलाउदै कानून प्रति वफादार रही निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण रुपले कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभएको थियो ।
साथै एआईजी थापाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले समयानुकुल प्रविधिको प्रयोग गरि ट्राफिक नियन्त्रण गर्दै आईरहेको अबस्थामा दुर्घटना तथा ट्राफिक नियम उलङ्घन पश्चात सि.सि.टि.भि. मनिटरिङ्को सहायताले समेत सफल अनुसन्धान तथा कार्वाही गरिएको वताउदै आउदा दिनहरुमा समेत विभिन्न तालुक निकायसँग समन्वय गरी उच्च मनोवलका साथ ट्राफिक प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, प्रहरी वरिष्ठ उपरीक्षक द्वय राजेन्द्र प्रसाद भट्ट र दिनेश राज मैनाली लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।







