२१ माघ, काठमाडौ । नेकपा एमाले धादिङको अधिवेशनको क्रममा हिजो भएको विवाद अध्यक्षमण्डलको अध्यक्षता भएपनि विवादको चुरो भने नयाँ कमिटीमा नेतृत्वको दुई धार रहेको खुलेको छ ।
गएराती आज हुने बन्द सत्रको लागि अध्यक्ष मण्डलको अध्यक्षता कसले गर्ने भन्ने विवाद बढ्दै जाँदा अधिवेशन स्थलमा कुटाकुटको अवस्था समेत आएको थियो । विवाद भने बन्द सत्रको अध्यक्षता पार्टीको केन्द्रीय महासचिव सर्कुलर गरेअनुसार गर्ने कि प्रदेश अध्यक्षको चाहना अनुसार गर्ने भन्नेमा विवादित थियो ।
वर्तमान जिल्ला अध्यक्ष भूमि त्रिपाठी नेतृत्वको अधिकांश पक्षले केन्द्रीय सर्कुलर अनुसार जिल्ला इन्चार्ज धर्म देवकोटाको अध्यक्षतामा गर्ने मत राखेको थियो । भने प्रदेश सदस्य रमेश आचार्य, प्रदेश कार्यालय सचिव गंगा श्रेष्ठ लगायतले आफूहरूले भनेअनुसार अध्यक्ष मण्डलको अध्यक्ष बनाउनुपर्ने दाबी गरेका थिए ।
जिल्ला कार्यसमिति बाहेक ५ सय ७८ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् । निर्वाचन भएको अवस्थामा कुल प्रतिनिधिको ३० प्रतिशत मात्रै अधिकारीतर्फका रहेकाले निर्वाचन प्रक्रियामा नै असहमति जनाएका जिल्ला कमिटी स्रोतले जानकारी दिएको छ । निर्वाचन भएमा पुन त्रिपाठी निर्वाचित हुने संशय अधिकारी पक्षलाई रहेको छ ।
सोही कारण आफू तर्फका बढी प्रतिनिधि ल्याएको विरोध भित्री भएपनि सतहमा भने अध्यक्ष मण्डलको अध्यक्षताको बिरोध निकालिएको एमाले धादिङ स्रोतले जानकारी दिए । प्रदेश अध्यक्ष ढुंगेलले विज्ञप्ति निकालेर बन्दसत्र स्थगित भने पनि केही बेर अघि मात्रै बन्दसत्र सुरु भएको उपसचिव सापकोटाले जानकारी दिइन् ।
बन्दसत्रमा जिल्ला इन्चार्ज देवकोटाको अध्यक्षतामा जिल्ला सहइन्चार्ज जानुका सिंखडा, रेशम लामा, प्रदेश सदस्य ध्रुव विश्वकर्मा र धनबहादुर घले सदस्य रहेका अध्यक्ष मण्डल गठन गरिएको छ । सोही अध्यक्ष मण्डलले बन्दसत्र अघि बढाएका जनाइएको छ । अधिवेशनले ५ पदाधिकारी र एक सय जना जिल्ला सदस्य चयन गर्नेछ ।