९ फागुन , काठमाडौ । महानगरपालिका-१६ की वडासदस्यले आफ्नै घरमा र घरवरपर गरि सातवटा सिसि क्यामेरा जडान गरेको पाइएको छ। महानगरपालिकाले १७ वटा सिसि क्यामेरा वडालाई उपलब्ध गराएकोमा सातवटा सिसि क्यामेरा वडासदस्य शारदा सुवेदीले आफ्नै घर र घर वरपर जडान गरेकी हुन्।

पहिले क्यामेरा खरिदका लागि बजेट विनियोजन हुने भए पनि त्यसमा भ्रष्टाचार हुन थाल्यो भन्ने गुनासोपछि महानगरले सिसि क्यामेरा नै खरिद गरेर दिएकोमा त्यसमा पनि अनियमिता भएको पाइएको हो।
चोरीका घटना बढ्न थालेपछि स्थानीयले सिसि क्यामेराको माग गरेकोमा महानगरपालिकाले उपलब्ध गराएका सात क्यामेरा आफ्नो घरमा र घरवरपर जडान गरेको, चार वटा क्यामेरा घरमा थन्काएको र बाँकि क्यामेरा पनि आफन्तको घर आसपासमा जडान गरेको स्थानीयले गुनासो गरेका छन्।
एमालेबाट निर्वाचित सुवेदीले राजनीतिक आडमा त्यसको गलत प्रयोग गरिरहेको स्थानीयको गुनासो छ। हामीलाई वडा सदस्यले आफ्नो घर र घरवरपर जडान गरेका सिसि क्यामेराको तस्बिर प्राप्त भएको छ। जसमा प्रस्टरूपमा उनले आफ्नो घरलाई सिसि क्यामेराले घेरेको देख्न सकिन्छ।
धेरैलाई सुरुमा हेर्दा लाग्न सक्छ व्यक्तिगत खर्चमा यसरी सिसि क्यामेरा जडान गरिएको हो। तर, त्यसो होइन उनले शक्तिको दुरुपयोग गर्दै आफ्नो घरमा सरकारी सम्पतिबाट खरिद गरिएका क्यामेरा जडान गरेकी हुन्।
यस विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहिनन्।



