१७ असोज,काठमाडौ । दशैँ र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैँमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ ।
पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ रु पाँच हजार दिने निर्णय गरेको छ ।
‘दशैँ तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो समयमा प्राविधिको विकाससँगै यस्ता मौलिकता हराउँदै छन्’, वडाध्यक्ष शिवकान्त तिवारीले भने, ‘फूलपातीको अघिल्लो दिनसम्म गाउँमा कहीँ कतै पिङ हाल्ने सुरसार नदेखेपछि वडाले पिङ बनाउन रु पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।’
गैँडाकोट वडा नम्बर ३ मा रहेका प्रत्येक टोल सुधार संस्थामा एक÷एक वटा पिङ निर्माण गर्न पनि उनले अनुरोध गरे । ‘पिङ रोको प्रमाणसहित वडा कार्यालयमा पुगेपछि कार्यालयले टोल सुधारलाई पाँच हजार रुपैयाँ सहयोग गर्नेछ’, उनले भने, ‘यो हाम्रो परम्परादेखि चलेको संस्कृति संरक्षणका लागि वडा कार्यालयले सानो प्रयास गरेको हो ।’ दशैँको पर्यायवाचीजस्तै बनेको पिङ गाउँघरबाट हराउन नदिनका लागि सबै समुदाय लाग्नुपर्ने तिवारीको भनाइ छ ।
‘हाम्रो वडामा मात्रै नभएर धेरै ठाउँमा दशैँको सातौँ दिन फूलपातीसम्म पनि पिङ राख्ने सुरसार देखिएन’, वडाध्यक्ष तिवारीले भने, ‘पहिले दशैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने चटारो हुने गथ्र्यो ।’ गाउँघरका चोक, चौर, चौतारामा दशैँँ लाग्नुअघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको भन्दै वडाध्यक्ष तिवारीले टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने बूढापाकाको भनाइ रहेको बताए । पछिल्ला आठ, दश वर्षमा समुदायबाट लिङ्गे पिङसँगै दशैँको रमाइलो पनि हराएकोजस्तै भइरहेको उनको भनाइ छ ।
गाउँघरमा पिङ निर्माण गरिने बाँसको लिङ्गो पाउन गाह्रो हुन थालेपछि पिङ निर्माणमा समुदायले बेवास्ता गरेको हुनसक्ने मध्यविन्दु–३ का भानुभक्त पौडेलले बताए ।



