डिआइजी अर्जुन चन्दलाई गण्डकी प्रदेश पठाउने तयारी -
Comments Add Comment

डिआइजी अर्जुन चन्दलाई गण्डकी प्रदेश पठाउने तयारी

४ वैशाख , काठमाडौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको समयमा १६ महिना विमानस्थल प्रमुखका रुपमा विताएका प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरी गुमनाम रहेका छन् । अकस्मात् सेवाबाट राजीनामा दिएपछि चर्चामा आएका उनी अहिले गुमनाम रहेका हुन् ।

राजीनामा पत्र बोकेर हेडक्वार्टर पुग्नुअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखको जिम्मेवारीमा थिए । सो जिम्मेवारीबाट मुक्त मात्र होइन प्रहरी संगठनबाटै बाहिरिन खोजेपछि उनलाई मानवस्रोत विभागका टेकप्रसाद राईले सम्झाएर रोेकेका थिए । अहिले भने प्रदेश समन्वयको जिम्मेवारी रहेका डिआइजी चन्दलाई गण्डकी प्रदेश कार्यालयको जिम्मेवारी दिएर पठाउने तयारी भएको छ ।

वैशाख ७ गते विकासराज खनालको अवकाशसँगै उनलाई त्यहाँ पठाउने तयारी भएको हो । डिआइजी चन्दको कार्यकाल झन्डै १४ महिना बाँकी थियो । तर, समयअगावै उनले दिएको राजीनामालाई विमानस्थल अध्यागमन कार्यालय–प्रहरीबीचको विवाद र भिजिट भिसामा मानव तस्करी प्रकरणसँग जोडिएको थियो ।

‘क्रान्तिकारी शैलीमा राजीनामा दिए पनि प्रहरी संगठनले त्यसलाई अस्वीकार गरेपछि अहिले उनी गुमनाम जस्तै छन्, विकास खनालको अवकाशपछि उनको त्यहाँ सरुवा हुने संभावना रहेको छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । ‘भिजिट भिसामा मानव तस्करीको पर्दाफास’ र पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अध्यागमन कर्मचारी–प्रहरीबीचको कुटाकुट प्रकरणसँग राजीनामा दिएका उनले पछि फिर्ता गरेका थिए । अहिले प्रहरी प्रधानकार्यालयमा रहेका छन् ।

डिआइजी चन्द कर्मचारी प्रहरी कुटाकुट प्रकरणमा संलग्न प्रहरी कर्मचारीको प्रतिरक्षामा उत्रिएका थिए । डिआइजी चन्दले अघिल्लो वैशाखमा विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । जिम्मेवारी सम्हालेलगत्तै उनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबीच मतभेद सुरु भएको थियो ।

त्यसपछि उनले त्यहाँबाट सरुवा मागेर प्रदेश कार्यालयमा जान चाहेको भएपनि तत्कालीन गृहमन्त्री श्रेष्ठले उनलाई त्यही रोकेका थिए । प्रदेश कार्यालय जान नपाएको पछिल्लो अवस्थामा विमानस्थलभित्र कर्मचारी र प्रहरीबीच द्वन्द सिर्जना भएपछि उनी राजीनामा दिएर हिडेका थिए ।

गत असोजमा विमानस्थल सुरक्षा कार्यालयले भिजिट भिसामा विदेश यात्रामा रहेका १५ सयभन्दा बढी व्यक्तिका शंकास्पद कागजात लिएर अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको थियो ।

ती कागजातको अनुसन्धान गर्दा नक्कली कागजात बनाएर भिजिट भिसा तयार गर्दै मानव तस्करी भइरहेको खुलासा भएको थियो । अनुसन्धान अघि बढ्दै जाँदा अध्यागमन अधिकृत नरवीर खड्कासम्म पुगेको थियो । खड्कालाई नियन्त्रणमा लिएर थालेको प्रहरी अनुसन्धानमा हालसम्म ९ जना अध्यागमन अधिकृत तानिएका थिए ।

जसमा खड्कासहित ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो थिए । हाल प्रहरी प्रधानकार्यालयमा रहेका डिआइजी चन्द आइजिपी कुँवरकै ब्याचमेट हुन् । प्रहरी नियमावलीअनुसार हालको ३० वर्षे सेवावधिकै प्रावधान रहिरहे २०८१ चैतसम्म उनी कार्यरत रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment