
काठमाडौं: काभ्रेपलान्चोक जिल्लामा नगर प्रहरीलाई कुटपिट गरेको आरोपमा प्रहरीले चारजना फुटपाथका व्यापारीलाई पक्राउ गरेको छ।
बनेपा नगरपालिका-७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा गएको मंगलबार नगर प्रहरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका- १ घर भएका २६ वर्षीय कृष्ण मानन्धर, सोही ठाउँकी ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा- ७ की ४० वर्षीया खड्गमाया श्रेष्ठ छिन्। उनीहरुलाई हिरासतमा राखेर थप कारबाही प्रक्रिया अघि बढाइएको छ ।
बनेपा नगरपालिकाको उजुरीका आधारमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नगर प्रहरीमाथि कुटपिट र झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको हो ।