
४ जेठ , काठमाडौ । गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पोखराबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको बस रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादीस्थित रिडी–तम्घास खडमा दुर्घटना हुँदा सहचालक जुम्ला घर भएका ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको हो ।
बसका चालकसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजन भुजेलले जानकारी दिए । घाइतेमध्ये स्याङजा घर भएका चालक २८ वर्षीय मनोज बस्यालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बसमा चालक र सहचालकसहित १३ जनामात्रै सवार थिए । घाइते सबैको पाल्पामै उपचार भइरहेको छ । बस सडकबाट झण्डै ६० मिटर तल खसेको थियो । बस दुर्घटनाको कारण खुलेको छैन । तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।