
१७ जेठ , काठमाडौ । आपराधिक लाभ लिने गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको म्याग्दी नगरपालिका–५ का ३० वर्षीय सन्तोष किसान रहेका छन् । उनलाई गत सोमबार प्रहरीले काठमाडौंस्थित कोटेश्वरबाट पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सुरुमा विभिन्न सामाजिक सञ्जालमार्फत महिलाहरूसँग चिनजान गर्ने गरेका थिए । सम्बन्ध गाढा हुँदै गएपछि विभिन्न प्रलोभन देखाएर शारीरिक सम्बन्ध स्थापित गर्ने गरेको खुलेको छ ।
त्यसपछि उनले गोप्यरूपमा फोटो तथा भिडियो खिच्ने गरेका थिए । पछि तिनै गोप्य फोटो र भिडियो पीडितका आफन्तलाई विभिन्न माध्यमबाट पठाइदिने धम्की दिएर रकम माग्ने र फेरि शारीरिक सम्बन्ध स्थापित गर्न बाध्य पारेर आपराधिक लाभ लिने गरेको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।