
बीमा रकम ठगी गर्ने सुन पसलेले आफ्नै पसलमा चोरी गराएको खुलेको छ। चितवनको कालिका–६ खोलेसिमलस्थित सुन पसलमा भएको चोरीको अनुसन्धान गर्ने क्रममा प्रहरीले सञ्चालक विनोद सुनारलाई नै पक्राउ गरेको छ।
हतियारधारी व्यक्तिहरु आएर दुई करोड १७ लाख ५४ हजार रुपैयाँबराबरको सुन चोरी भएको उजुरी उनले गरेका थिए। प्रहरीले गरेको अनुसन्धानबाट सुनारले नै चोरी भएको नाटक गरी बीमा रकम ठगी गर्न योजनाबद्ध रुपमा एक समूहलाई खटाएको खुलेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालले बताए ।
चितवन प्रहरीले सुन पसले सुनारसहित विजय विश्वकर्मा, पूर्णबहादुर विश्वकर्मा, पवनकुमार पासवान र अन्जना पुडासैनी केसीलाई पक्राउ गरेको छ।
लुटपाटको मुख्य योजनाकार पसल सञ्चालक, चोरी गर्न सहयोग गर्ने र सामान लुकाउन सहयोग गर्ने व्यक्तिलाई प्रहरीले सोमवार पक्राउ गरेको हो । अन्य दुई जनालाई मंगलवार पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान गर्न काठमाडौँबाट सिआईबीको टिम समेत चितवन आएको थियो ।
पसल सञ्चालक विनोद सुनार स्वयम्ले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको एसपी रिमालले बताए । ‘बीमा दाबी गर्नका लागि पसल सञ्चालक आफैले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटरसाइकलमा चोरी गर्न आउने व्यक्तिलाई प्रलोभनमा पारेर घटना गराएको देखिन्छ’, उनले भने ।
उनका अनुसार पसल लुटपाटको नाटक गर्न पसल सञ्चालकले पूर्ण बहादुर विश्वकर्मालाई जिम्मा दिएका थिए । त्यसवापत पूर्णबहादुरले ५० हजार रुपैयाँ लिइसकेका थिए । धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास देखाई पसलबाट दुई करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी भएको पसल सञ्चालकले दाबी गरेका थिए । चोरी भएको सुनको गुणस्तर परीक्षण हुन बाँकी छ ।
घटना भएको दुई दिनपछि चोरी भएको भनिएको सुनचाँदीका गहनाहरु पसल सञ्चालकले नै अञ्जनाको घरमा गई लुकाउन लगाएको पाइएको प्रहरी उपरीक्षक रिमालले बताए । अञ्जना पसल सञ्चालकको मिल्ने साथी भएको पाइएको छ । पक्राउ परेका माथि थप अनुसन्धान गर्न प्रहरीले चितवन जिल्ला अदालतबाट ६ दिनको म्याद पाएको छ ।