२५ असोज , काठमाडौ । दशैंको मौका छोपी चिनियाँ नागरिकको घरमा लाखौँ रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो २ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नं. ३२ पेप्सीकोलास्थित अन्जली ताम्राकारको घरमा चोरी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २८ वर्षीय मनिष सापकोटा, काभ्रेपलाञ्चोक घर भएका २७ वर्षीय धनेष लामा, नुवाकोट घर भएका २८ वर्षीय डियुक सापकोटा र नुवाकोट घर भएकी २६ वर्षीया श्रीमाया तामाङ छन् ।
उनीहरुले ताम्राकारको साढे ३ तले पक्की घरको माथिल्लो तलामा डेरा गरी बस्ने चाइनिज नागरिक ५७ वर्षीया लुओ जिया लियानको कोठाको ताला फोडी १९ लाख नगद तथा सि।सि। क्यामेराको हार्डड्राईभ चोरी गरेका थिए ।
उनीहरुको साथबाट प्रहरीले नगद १६ लाख ४९ हजार ७४०, चोरी गरेको फलामको लकर १ थान, चोरी गरेको रकमबाट बाडफाड गरी उक्त रकम बाट खरिद गरिएको नयाँ एनएस २०० मोटरसाइकल १ थान र पक्राउ गरिएका व्यक्तिहरुले प्रयोग गर्ने मोबाईल ६ थान पनि बरामद गरेको छ।
बिहीवार काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत बानेश्वर पठाइएको छ।